इटहरी/ नेपाली फिल्म ‘महाभोज’ले पर्दामा देखाएको सहकारी ठगीको यथार्थले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलाई पुनः संसदमा आवाज उठाउन प्रेरित गराएको छ । मंगलबार साँझ काठमाडौंको सुनधारास्थित क्युएफएक्स हलमा फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले सहकारीमा भइरहेको दुरुपयोग गम्भीर मुद्दा भएको र ‘महाभोज’ले यसलाई निःपक्ष, सशक्त ढंगले उजागर गरेको बताए ।
उनले भने, “निर्देशकले निकै जोखिम मोलेर यस्तो विषय उठाउनुभएको छ । यसले फेरि संसदमा यसबारे उठान गर्न बाध्य बनाएको छ । या त नयाँ ऐन चाहिन्छ, या त गहिरो छानबिन ।” शाहीले सहकारी क्षेत्रमा चलिरहेको विकृति केही व्यक्तिसम्म सीमित नरहेको भन्दै यसअघि आफैले संसदीय समिति माग गरिसकेको उल्लेख गरे । ‘महाभोज’ गत शुक्रबारदेखि प्रदर्शनमा आएको हो । यसले दर्शकहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
सहकारी ठगीजस्तो गम्भीर सामाजिक यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको भन्दै दर्शक र समीक्षकहरूले प्रशंसा गरिरहेका छन् । हलबाट निस्किने दर्शकहरू फिल्मप्रति प्रसन्न मुद्रामा देखिन्छन् र यसलाई ‘हेर्नैपर्ने’ फिल्मको संज्ञा दिन थालेका छन् । सोही साँझ फिल्म हेरेका कलाकार अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिष्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर बिष्टलगायतले ‘महाभोज’का विषयवस्तु अत्यन्त सशक्त रहेको बताएका छन् । उनीहरूका अनुसार यो फिल्म राजनीतिक दलका नेतादेखि आम सर्वसाधारणसम्म सबैले हेर्नुपर्ने खालको छ ।
@parikalanewsofficial
दिनेश राउत निर्देशित तथा विकास सुवेदीद्वारा लिखित ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । हिमाल कडरियाको निर्माणमा तयार भएको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायतका कलाकारहरूको अभिनय छ । सामाजिक यथार्थ, राजनैतिक सन्दर्भ र मानवीय भावनाको गहिरो समिश्रण पस्किएको ‘महाभोज’ले नेपाली राजनीतिक वृत्तमा बहसको नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।















Discussion about this post