इटहरी/ आउँदो भदौ २७ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ निर्माण टिमले प्रचारप्रसारको नयाँ र चाखलाग्दो ढंगले सुरु गरेको छ । रहस्यमयी हिममानव ‘यति’ को एआई प्रयोगमार्फत निर्माण पक्षले सामाजिक सञ्जालमा फिल्मको प्रचारप्रसार सुरु गर्दै दर्शकको चासो बढाएको छ ।
एआई भिडियोमा यति यति हल पुगेर ‘अभिमन्यु’ कहिले आउँछ भनी सोधेको देखिन्छ, तर हल नहुँदा सहर आउनुपर्ने बाध्यता उसले व्यक्त गर्छ । अर्को भिडियोमा यतिले ‘पूर्ण बहादुरको सारङ्गी’ हेरेको बताउँदै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्न आउने र यो भदौ २७ गते प्रदर्शन हुने जानकारी दिन्छ । प्रविधिको सस्तो र प्रभावकारी उपयोगमार्फत निर्माण टिमले फिल्म प्रचारको फरक आयाम देखाएको छ ।

यतिको प्रयोग फिल्मको विशिष्टता दर्शाउने सन्देशस्वरूप हो कि संयोग, यसबारे निर्माण पक्ष मौन छ । पहिले नै सय दिनको काउन्टडाउन पोस्टरसहित प्रचार यात्रा आरम्भ गरिसकेको ‘अभिमन्यु’ हाल पोस्ट-प्रोडक्सनको चरणमा छ । सुशान्त गौतमको निर्देशनमा तयार भएको यो फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौलाको प्रमुख भूमिका रहेको छ ।
@parikalanewsofficial
फिल्मको कथा पैसाको लोभमा परेर चक्रव्यूहमा फसेका पात्र र त्यसबाट उम्किन खोज्ने संघर्षमा केन्द्रित छ । ‘सेभेन सिज सिनेमा’को ब्यानरमा निर्माण भएको यो फिल्म सुशान्त गौतमको निर्देशन डेब्यु फिल्म पनि हो । फिल्मको लेखन मुकेश खनालले गरेका छन् भने क्रिएटिभ निर्देशन मदन थापाले सम्हालेका छन्, जसले अघिल्लो पटक ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।
यो फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । जीवन शाक्य लाइन प्रोड्यूसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक र सरोज श्रेष्ठ निर्माण नियन्त्रकको भूमिकामा छन् । शरद महतोले छायांकन गरेको यो फिल्म नेपाली र हिन्दी दुबै भाषामा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुने निर्माण यूनिटको भनाई छ ।















Discussion about this post