इटहरी/ तीन दशकअघिको सदावहार हिट गीत ‘धोका दियौ तिमीले’को नयाँ भर्सन सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल सिजन ६’ का फस्ट रनरअप रोशन राईको स्वरमा सजिएको यो गीत लुङ्टो क्रियशनले बजारमा ल्याएको हो । काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो । लगत्तै लुङ्टो क्रियशनको आधिकारिक युट्युब च्यानलबाट गीतको अफिसियल भिडियो पनि सार्वजनिक गरिएको छ ।
वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राईले ३५ वर्षअघि संगीत भरेको यो गीतमा बुद्धवीर लामाको शब्द रहेको छ । यसको पुरानो पुरुष भर्सनमा सरोज कुमार श्रेष्ठ र महिला भर्सनमा सुक्मित गुरुङको स्वर सुन्न सकिन्छ । नयाँ भर्सनलाई देवेश राईले एरेञ्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ र मास्टरिङ गरेका छन् । अमर श्रष्टा स्व. विक्रम राईप्रति समर्पित यो गीतमा थप संगीत विक्रमकै रहेको छ, जहाँ चर्चित गायिका मेलिना राईले पनि स्वर दिएकी छिन् । हेर्नुस् भिडियो।
कार्यक्रममा बोल्दै संगीतकार शान्तिराम राईले काठमाडौंको संघर्षपूर्ण बसाइमा यो गीतको जन्म भएको स्मरण गरे । उनले यो गीत बाबु, छोरा र नाति पुस्तासम्म लोकप्रिय रहेको बताए । गायक रोशन राईले यस्तो लोकप्रिय गीत गाउन पाउँदा खुसी व्यक्त गर्दै संगीतकार शान्तिराम राईप्रति आभार व्यक्त गरे ।
‘द भ्वाइस अफ नेपाल’का चर्चित होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । उनले रोशनको गायन र अभिनय दुवैको प्रशंसा गरे ।
चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेम र धोकाको कथालाई प्रस्तुत गरिएको छ । गीतको भावना अनुसार तयार पारिएको भिडियोमा अभिनेत्री केकी अधिकारी र स्वयं गायक रोशन राईले अभिनय गरेका छन् । निर्देशक राईले दुवै कलाकारको अभिनयलाई उत्कृष्ट बनाएका छन् । ‘द भ्वाइस अफ नेपाल’ बाट चर्चामा आएका रोशन राई बाल्यकालदेखि नै संगीतमा सक्रिय छन् ।
@parikalanewsofficial
उनले २०६० सालमा पहिलो गीत रेकर्ड गराएका थिए । हालसम्म एक हजारभन्दा बढी गीत गाइसकेका रोशनका चार एल्बम सार्वजनिक भइसकेका छन् । बहुमुखी प्रतिभाका धनी रोशन गायनका साथसाथै शब्द र संगीत सिर्जनामा पनि सक्रिय छन् । उनका सयभन्दा बढी संगीत सिर्जनाहरू श्रोतामाझ लोकप्रिय छन् । पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका रोशनले यसबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् । यसअघि रोशनका ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ र ‘जीवनमा एउटै’ जस्ता गीतहरु चर्चित छन् ।















Discussion about this post