इटहरी/ ब्लकबस्टर फिल्म ‘जारी’को सफलतापछि अब ‘जारी २’ आउँदो दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने चर्चा छ । तर, निर्माण युनिटले यही मिति मै रिलिज गर्ने भनेर सार्वजनीक भने गरेको छैन । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुँदै गरेको यो फिल्म ‘जारी २’को छायांकन हालै पाँचथरमा ३६ दिनको छायांकन पश्चात सम्पन्न भएको छ । फिल्मको सम्पूर्ण छायांकन पूर्वी पहाडी जिल्ला पाँचथरमै सम्पन्न भएको निर्माण युनिटले जनाएको छ ।
छायांकन सम्पन्न भएको घोषणा गर्दै बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म निर्माण टिमले मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा मिरुना मगर लिम्बू परम्परागत पहिरनमा सजिएकी छन् भने दयाहाङ राई च्याब्रुङ बजाउँदै सांगीतिक भावमा प्रस्तुत छन् । यही मौलिकतालाई समेट्दै फिल्मको ट्यागलाइन ‘संग अफ च्याब्रुङ’ राखिएको छ ।

‘जारी २’ उपेन्द्र सुब्बाकै लेखनमा तयार भएको फिल्म हो । उनको निर्देशनमा तयार भएको पहिलो ‘जारी’ फिल्मले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको थियो । त्यसयता दर्शकहरू फिल्मको दोस्रो श्रृंखलाको प्रतिक्षामा थिए । रामबाबु गुरुङको निर्माण रहेको यो फिल्ममा दयाहाङ र मिरुना मगरसँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको समेत अभिनय रहनेछ ।
@parikalanewsofficial















Discussion about this post