इटहरी/ लामो समयदेखि टेलिभिजन सिरियलमा सक्रिय रहँदै दर्शकको मन जितेका लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ अब फिल्म निर्देशनमा होमिएका छन् । ‘मेरी बास्सै’मार्फत लोकप्रियता कमाएका उनले पहिलो फिचर फिल्म ‘गोबर गणेश’ निर्माण र निर्देशन गर्ने तयारी गरेका हुन् ।
चलचित्र विकास बोर्डबाट निर्माण स्वीकृति प्राप्त गरिसकेको फिल्म ‘गोबर गणेश’ सामाजिक कमेडी विधामा रहने बताईएको छ ।
फिल्ममा सीता देवी तिमल्सिना र पूजन घिमिरे ‘पुकु’ मुख्य भूमिकामा देखिनेछन् । पूजन घिमिरे र मरिचमानको सहकार्य ‘जुठे’ र ‘हल्का रमाइलो’ जस्ता सिरियलमार्फत पहिले देखि नै चर्चामा रहँदै आएको छ । दुई करोड रुपैयाँको बजेटमा निर्माण हुन लागेको यो फिल्म बल्छी धुर्बे फिल्म्स प्रालिको व्यानरमा निर्माण गरिनेछ । मरिचमान आफैंले चाहिँ अभिनय गर्ने वा नगर्ने भन्नेबारे टुंगो लाग्न बाँकी भए पनि, निर्देशनको जिम्मा भने उनले आफैं सम्हाल्ने निश्चित भइसकेको छ ।
फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुने भनिएको छ भने छिट्टै यसको टाइटल पोस्टर सार्वजनिक गरिने तयारीमा छ ।
यसअघि टेलिभिजनबाट फिल्ममा रूपान्तरणको उदाहरणका रूपमा ‘तीतो सत्य’ बाट जन्मिएको ‘छक्कापञ्जा’ र ‘सक्किगो नि’ बाट बनेको ‘लाज शरणम्’ सफल भइसकेका छन् । अब बल्छी धुर्बे पनि ‘गोबर गणेश’मार्फत यही यात्रामा अगाडि बढ्दै छन् । उनको फिल्मी यात्रा कति सफल हुन्छ भन्ने कुरा भने फिल्म रिलिज पर्खनै पर्ने हुन्छ ।
@parikalanewsofficial















Discussion about this post