इटहरी/ नेपाली फिल्म उद्योगका चर्चित अभिनेता अनमोल केसी अबको फिल्ममा फरक अवतारमा प्रस्तुत हुने भएका छन् । ‘बाटुलो जुन’ नामक नयाँ फिल्ममार्फत उनले पहिलोपटक पूर्ण ग्रामीण पात्रको भूमिका निर्वाह गर्ने भएका छन् । यो फिल्मलाई जिया केसीले निर्माण गर्दैछिन् भने निर्देशनको जिम्मा भुवन केसीले सम्हाल्ने भएका छन् । सीधा हेर्दा यो होम प्रोडक्सन देखिन्छ ।
स्रोतका अनुसार, यो फिल्म अनमोल केसीको करिअरमै सबैभन्दा कम बजेटको फिल्म हुने भएको छ । फिल्मको अनुमानित बजेट बोर्डमा २५ लाख मात्र उल्लेख गरिएको छ । यसरी हेर्दा उनले लिने पारिश्रमिकको आधा भागको बजेटमा यो फिल्म निर्माण गर्न लागिएको छ । यसमा न त अनमोलले पारिश्रमिक लिनेछन्, न त भुवन केसीले । सम्पूर्ण आर्थिक जिम्मेवारी निर्माता जिया केसीले एक्लैले सम्हाल्ने भएकी छिन् ।
@parikalanewsofficial
फिल्ममा भुवन र अनमोल दुवैको अभिनय रहनेछ । विशेष कुरा के छ भने, ग्रामीण भूमिका सशक्त बनाउन अनमोलले जुँगा समेत पालेका छन् । यसअघि ‘क्याप्टेन’ फिल्ममा पनि उनी केही रूपमा ग्रामीण परिवेशमा देखिएका थिए, तर ‘बाटुलो जुन’ मा भने उनी पूर्ण रूपमा ग्रामीण अवतारमै प्रस्तुत हुँदैछन् । यो होम प्रोडक्सन जस्तो देखिए तापनि, प्राविधिक रूपमा होम प्रोडक्सनको रूपमा लिन नसकिने स्रोतले जनाएको छ । फिल्मको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।















Discussion about this post