इटहरी/ समाजको वास्तविकता बोकेको कथा र कर्णालीको सांस्कृतिक रङ मिसिएको लय लिएर आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनीक भएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचको शैलीमा आधारित यो गीतमा सौगात मल्ल र बेनिशा हमालले जीवन्त अभिनय प्रस्तुत गरेका छन् । गीत सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । बाबुल गिरीको संगीत तथा स्वरमा तयार यो गीतमा शान्तिश्री परियारले पनि स्वर दिएकी छन् भने गोवन्द भट्टले शब्द रचना गरेका हुन् ।
भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र प्रवीन सिंहको छायांकन समेटिएको छ । गीत रिलिज कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता रहेको थियो । उनले गीतको तारिफ गर्दै फिल्मले पनि उस्तै प्रभाव पार्ने आशा व्यक्त गरे । निर्देशक राज बहादुर सानेले फिल्मलाई आफ्नो करिअर परिवर्तन गर्ने महत्वपूर्ण मोडको रूपमा उल्लेख गर्दै ‘सिटामोल’लाई अहिलेसम्मकै उत्कृष्ट फिल्म भएको दाबी गरे । हेर्नुस् भिडियो ।
फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायत कलाकारहरूको अभिनय छ । श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो । बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय रहेको छ । तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मसको सहकार्यमा निर्माण भएको यो फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले तयार पारेका हुन् ।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन् । फिल्मको प्राविधिक पक्ष पनि बलियो छ, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउन्ड डिजाइन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन र दिव्य सुवेदीको छायांकन रहेको छ । लोक शैली र यथार्थ कथा मिसिएको ‘सिटामोल’ साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
@parikalanewsofficial















Discussion about this post