इटहरी/ ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’-यस्तै पीडादायी यथार्थ बोकेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीको मोहमा घरबार र परिवार छाडेर परदेशिएका युवाहरूको सपना, संघर्ष र नियतिले दिएको चोटलाई फिल्मले गहिरो रुपमा भावनात्मक स्पर्शका साथ प्रस्तुत गर्नेछ । रेबेल फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म साउन १६ गते देशव्यापी प्रदर्शनमा आउँदैछ ।
आइतबार सार्वजनिक गरिएको टिजरले नेपालमा रोजगारको अभावले विवश भएका युवाहरूको विदेशप्रतिको आशा, त्यसपछि त्यहीँको कठोर यथार्थ र नियतिको विडम्बनालाई अत्यन्तै संवेदनशील ढंगले उजागर गरेको छ । निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरीजस्ता कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ । हेर्नुस् टिजर ।
फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । ‘रियाल रिङ्गेट’ नाम नै कतार र साउदीको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’को समिश्रणबाट बनाइएको हो, जसले लाखौं नेपाली युवा पुगेका ती गन्तव्य मुलुकहरूलाई संकेत गर्छ । टिजरमा देखिएका दृश्यहरूले परदेश पुगेका युवाहरू कसरी शोषण, प्रलोभन र दुर्घटनामा फस्छन् भन्ने यथार्थ छर्लङ्ग पार्दछ । गीत-संगीत पनि फिल्म प्रभावशाली देखिन्छ ।
रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीतमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर यो फिल्मको गीतमा रहेको छ । शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । गगनलाल प्रधानको निर्माण, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ । फिल्म भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायांकन गरिएको हो । फिल्मको वितरण काफिया फिल्म्सले गर्दैछ । ‘रियाल रिङ्गेट’ ले परदेशिन बाध्य नेपाली युवाको कथा मात्र हैन, सपनाको पछाडिका आँसु, बिछोड र शोषणको कथा पनि बोल्नेछ ।
@parikalanewsofficial














Discussion about this post