इटहरी/ नेपाली फिल्मका ‘चकलेटी हिरो’ अनमोल केसी अब बिल्कुलै नयाँ अवतारमा दर्शकमाझ आउने भएका छन्। आफ्नो परम्परागत लुक्सभन्दा फरक देखिँदै उनी आगामी फिल्म ‘बाटुलो जुन’ मा ग्रामीण परिवेशको चरित्रमा देखिँदैछन्। यसका लागि उनले जुँगा समेत पालेका छन्, जसको झलक उनको हालैको कतार यात्रामा पनि देखिएको थियो। यो फिल्म अनमोलका पिता भुवन केसीले निर्देशन गर्नेछन् भने उनकी बहिनी जिया केसीले निर्माण को जिम्मा लिएकी छिन्। केही दिनअघि मात्र चलचित्र विकास बोर्डले ‘बाटुलो जुन’ लाई निर्माण अनुमति दिएको हो। यो फिल्म अनमोलको आफ्नै होम प्रोडक्सन ‘सुपर काजल फिल्म्स’ बाहिर, ‘सनराइज पिक्चर्स प्रालि’ को ब्यानरमा निर्माण हुँदैछ।
चलचित्र विकास बोर्डमा पेस गरिएको विवरणमा यसको अनुमानित बजेट २५ लाख रुपैयाँ मात्रै उल्लेख गरिएको छ। अझ रोचक त के छ भने, निर्देशक भुवन केसी र अभिनेता अनमोल दुवैले यस फिल्मका लागि कुनै पारिश्रमिक नलिने निर्णय गरेका छन्। स्रोतले यो फिल्म होम प्रोडक्सनको परियोजना नभएको प्रस्ट पार्दै “पूरा आर्थिक जिम्मेवारी निर्माता जिया केसीले लिएको”जनाएको छ।
फिल्मको छायांकन असारको दोस्रो सातादेखि चित्लाङस्थित अंगुर खेती का सुन्दर दृश्यहरूबाट सुरु हुने तयारी छ। प्रारम्भिक चरणको सुटिङ सकिएपछि अनमोल आफ्नो अर्को फिल्म ‘जेरी अनटप’ को गीत छायांकनमा व्यस्त हुनेछन्। वर्षायाम सकिएसँगै ‘बाटुलो जुन’ को बाँकी छायांकन अगाडि बढाइनेछ।
यस फिल्ममा अनमोलसँग एक नयाँ अभिनेत्री ले डेब्यु गर्ने तयारी भइरहेको छ, यद्यपि औपचारिक घोषणा हुन बाँकी छ। पछिल्लो समय कम बजेटमा बनेका ग्रामीण कथाका फिल्महरूले राम्रो व्यापार गरिरहेको ट्रेन्डलाई ध्यानमा राख्दै ‘बाटुलो जुन’ पनि सोही शैलीमा निर्माण भइरहेको बुझिएको छ।
स्रोतका अनुसार, अनमोल केसीले अबदेखि वर्षमा तीनवटा मात्र फिल्ममा काम गर्ने रणनीति अपनाएका छन्।‘बाटुलो जुन’ को प्रदर्शन मिति हालसम्म तय भइसकेको छैन, तर निर्माण टिमले यसलाई ‘मास अडिएन्स’ लक्षित सशक्त ग्रामीण कथा का रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
@parikalanewsofficial














Discussion about this post