इटहरी/ नेपाली फिल्म ‘मिरमिरे’मा चर्चित अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित छिन् । यसअघि नै दयाहाङ राई र प्रकाश सपूतको अनुबन्ध भएपछि चर्चामा रहेको यस फिल्ममा सिर्जनाको इन्ट्रिले ‘मिरमिरे’को कलाकार लाईनअप अझ बलियो बनेको छ । सिर्जनाले यसअघि ‘कार्साङ’मा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन्, जहाँ उनको कामको निकै प्रशंसा भएको थियो । उनले ‘कार्साङ’मा दयाहाङ राईसँगै काम गरेकी थिइन् भने अब ‘मिरमिरे’मा पनि यो जोडी दोहोरिने भएको छ ।
‘मिरमिरेमा आबद्ध हुन पाउँदा म धेरै खुसी छु,’ सिर्जनाले भनिन्, ‘यो महत्वपूर्ण भूमिकाका लागि निर्माण टिम र निर्देशकप्रति आभारी छु । मलाई दिएको यो विश्वासलाई मैले पूर्ण इमान्दारिताका साथ निभाउने प्रयास गर्नेछु ।’यद्यपि, ‘मिरमिरे’मा सिर्जनाको जोडी को बन्नेछ भन्नेबारे निर्माण पक्षले अझै खुलाएको छैन । अन्य कलाकारहरूको बारेमा पनि विस्तृत जानकारी सार्वजनिक गरिएको छैन, तर हालसम्मको कलाकार लाईनअप हेर्दा ‘मिरमिरे’को प्रस्तुति निकै दमदार हुने अनुमान गर्न सकिन्छ ।
‘मिरमिरे’को निर्देशन यम शेर्पाले गर्दैछन् । उनले फिल्मलाई उत्कृष्ट बनाउनका लागि बलियो कलाकार र प्राविधिक टोली निर्माणमा जोड दिएको बताए । यार्सा फिल्म्सको बस्तुति रहेको यो फिल्मले ग्रामीण परिवेशको एउटा मार्मिक सामाजिक कथा प्रस्तुत गर्नेछ । फिल्मको कथा पनि निर्देशक यम शेर्पा आफैंले लेखेका हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा ‘मिरमिरे’को निर्माता रहेका छन् भने गोविन्द बोहरा, सुदिप कुँवर, र ईश्वर श्रेष्ठ सह निर्माताको रूपमा रहेका छन् । आरआर फिल्म्सका सञ्चालक तथा फिल्म वितरक रोहित कट्टेल यस फिल्मका कार्यकारी निर्माता हुन् । ‘मिरमिरे’ २०८२ सालमा प्रदर्शनमा आउने तयारीमा छ । यद्यपि, यसको निश्चित प्रदर्शन मिति भने तोकिएको छैन । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।
@parikalanewsofficial














Discussion about this post