ईटहरी/ बाबु र छोरा बीचको गहिरो तर अक्सर अभिव्यक्त गर्न नसकिने सम्बन्धको कथालाई पर्दामा उतार्ने फिल्म ‘जनै हराएको मान्छे’ को नयाँ पोष्टर सार्वजनीक भएको छ । पेपरक्लिपको प्रस्तुतिमा निर्माण भएको यो फिल्म यही आउँदो भदौ ६ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउदैछ । निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेको यस फिल्मले ‘सम्बन्धका धागाहरु’ लाई केलाउने प्रयास गरेको छ । फिल्मको हालै सार्वजनिक फर्स्टलुक पोस्टरले दर्शकमाझ कौतुहलता जगाएको छ ।
पोष्टरमा “यो संसारमा सबैभन्दा महँगो मेरै बाबाको पसिना रहेछ” भन्ने मार्मिक लाईन उल्लेख गरिएको छ । यसले हरेक छोराछोरीलाई आफ्नो बुबाको संघर्ष र योगदानको कदर गर्न प्रेरित गर्ने देखिन्छ । फिल्मका सहायक निर्देशक मनिष राउतका अनुसार, ‘जनै हराएको मान्छे’ले बाबु र छोराको सम्बन्धका सूक्ष्म र भावनात्मक धागाहरूलाई केलाउने प्रयास गरेको छ । “यो सम्बन्ध महसुस गर्दा सबैभन्दा गहिरो हुन्छ, तर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । हामीले यही भावनालाई फिल्ममा उतार्ने कोसिस गरेका छौँ,” राउतले भने ।
फिल्मका निर्माता बिमल न्यौपानेले सम्बन्ध र भावनाले भरिपूर्ण यो कथालाई रोचक र मार्मिक ढंगले प्रस्तुत गर्न खोजिएको बताए । सार्वजनिक गरिएको पोस्टरले पनि फिल्मको सारलाई संकेत गर्दछ । पोस्टरमा अस्ताउन लागेको सूर्यको रूपमा बुबा र उदाउँदो सूर्यको रूपमा छोरालाई प्रतीकात्मक रूपमा देखाइएको छ, जसले पुस्तान्तरण र सम्बन्धको निरन्तरतालाई दर्शाउँछ ।
@parikalanewsofficial
कमल न्यौपाने र बिमल न्यौपाने निर्माता रहेको यस फिल्मका सह-निर्देशक मनिष राउत हुन् । फिल्मका कार्यकारी निर्माताको रुपमा नारायण तिम्सिना, सिएम शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी, जेम्स महर्जन रहेका छन् । यो फिल्ममा पूर्ण बहादुरको सारङ्गी जस्ता एतिहासिक रेकर्ड कायम गरेको फिल्मका अभिनेता विजय बराल प्रमुख भूमिकामा रहेका छन् । उनी सँगै फिल्ममा केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, भोलाराज सापकोटा, रियर राई लगायतको अभिनय रहेको छ ।
Discussion about this post