इटहरी/ भारतीय फिल्मका सशक्त अभिनेता प्रदीप रावत फेरि एकपटक नेपाली पर्दामा देखिने भएका छन्। तेलुगु, हिन्दी र तमिल फिल्ममा विशेषगरी खलनायकको भूमिकाबाट ख्याति कमाएका रावत यसअघि ‘ह्रस्व दीर्घ’ मा देखिएका थिए। अब भने उनी ‘आ बाट आमा’ नामक नयाँ नेपाली फिल्ममा अनुबन्धित भएका छन्।
यस फिल्मको निर्देशन पनि ‘ह्रस्व दीर्घ’ का निर्देशक चन्द्र पन्तले नै गर्दैछन्। निर्देशक पन्तका अनुसार, प्रदीप रावतले यस फिल्ममा अभिनेता पल शाहको बुबाको भूमिका निर्वाह गर्नेछन्। “उहाँले नितान्त नेपाली लोकमा नेपाली शैलीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ,” पन्तले प्रदीपको चरित्रबारे जानकारी दिए।
प्रदीप रावतले ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निभाएका थिए। लगातार दोस्रो पटक नेपाली फिल्ममा प्रदीपको उपस्थितिले दर्शकमाझ उत्सुकता जगाएको छ। उनको बलियो अभिनयले फिल्मलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।’आ बाट आमा’ मा प्रदीप रावतबाहेक विपना थापा र पल शाह को पनि मुख्य भूमिका रहनेछ। विपनाले ‘ह्रस्वदीर्घ’ मार्फत १६ वर्षपछि नेपाली रजतपटमा कम्ब्याक गरेकी थिइन्।
अभिमन्यू निरवीले स्क्रिप्ट तयार पारेको ‘आ बाट आमा’ आगामी भदौ महिनाबाट छायांकनमा जाने तयारीमा छ। निर्देशक पन्तले फिल्म आगामी फागुन १५ गतेबाट प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको बताएका छन्। अन्य कलाकार र प्राविधिक पक्षको टुंगो छिट्टै लाग्ने जानकारी पनि उनले दिएका छन्।प्रदीप रावतजस्ता अनुभवी कलाकारको नेपाली फिल्ममा निरन्तरताले उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
@parikalanewsofficial














Discussion about this post