इटहरी/ फिल्म ‘ऊनको स्वीटर’ ले हालसालै नेपाली फिल्म उद्योगमा ऐतिहासिक सफलता रच्दैछ। फिल्मले मात्र बक्स अफिसमा राम्रो कमाइ गर्दै वर्षको पहिलो सुपरहिट फिल्म बन्न सफल भएको छैन, यसको संगीत पक्षले पनि यति बेला दर्शकको मन जितेर कीर्तिमान बनाएको छ।नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको , ‘ऊनको स्वीटर’ लाई म्युजिकल फिल्म भनेर पनि उल्लेख गरिन्छ ।
विपिन कार्की र मिरूना मगरको मुख्य अभिनय रहेको फिल्म ‘ऊनको स्वीटर’ भावनात्मक कथावाचन, सरल संवाद, र सशक्त निर्देशनका कारणले दर्शकको हृदय छुने सफल प्रयास बन्यो। ‘ऊनको स्वीटर’ निर्माता संस्था आर्टमाण्डुको पहिलो प्रयास हो। र यो पहिलो फिल्ममै आर्टमाण्डुले जुन स्तरको दर्शक र सांगीतिक सफलता पाएको छ, त्यो नेपाली फिल्मको सन्दर्भमा राम्रो उपलब्धि मानिन्छ।
फिल्मको सबैभन्दा प्रशंसित पक्ष भनेको यसको संगीत रहेको छ। फिल्ममा समावेश चारवटै गीत ‘फूल’,’ मखमली’,’ काफ्ले’र ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शकको यति धेरै माया पाए कि ती चारै गीत युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन्। नेपाली फिल्म इतिहासमै एउटै फिल्मका चार गीत करोड क्लबमा पुग्नु सम्भवत पहिलोपटक भएको घटना हो।
यो फिल्मले नेपाली फिल्मका गीतहरू केवल कथाको हिस्सा भएर मात्र होइन, आफ्नै अस्तित्व र प्रभाव जमाउने गरी निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ। नयाँ पुस्ताका संगीतकर्मी, गायक गायिका र संगीत संयोजकको टोलीले संगीतमा दिएको योगदान प्रशंसनीय छ।‘ऊनको स्वीटर’ को सफलता नेपाली फिल्म निर्माणकर्ताहरूका लागि प्रेरणा हो कि राम्रो कथा, संगीत र प्रस्तुति भए दर्शकले साथ दिन्छन् भन्ने सन्देश दिन्छ। यसले दर्शकको स्वाद बुझेको, सरल तर सशक्त फिल्म पनि सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
@parikalanewsofficial
Discussion about this post