इटहरी/ नेपाली समाजको यथार्थ उजागर गर्ने उद्देश्यसहित निर्माण गरिएको बहुप्रतीक्षित फिल्म ‘महाभोज’ बिहीबारदेखि देशभर प्रदर्शनमा आएको छ। निर्देशक दिनेश राउतको निर्देशनमा बनेको यस फिल्मले करिब २०० शोमार्फत सार्वजनिक प्रदर्शनको थालनी गरेको हो।दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौंमा सम्पन्न प्रिमियरपछि निर्माण टिमले पोखरा र बुटवलमा विशेष शोहरू आयोजना गरिसकेको छ। बिहीबार विराटनगर र धरानमा पनि भव्य प्रिमियर शो सम्पन्न भएका छन्, जसमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले फिल्मप्रति उत्साहजनक प्रतिक्रिया जनाउँदै, सामाजिक यथार्थ प्रस्तुत गरेकोमा सकारात्मक मूल्यांकन गरेका छन्।
फिल्मको प्रारम्भिक समीक्षा र दर्शकहरूको प्रत्यक्ष प्रतिक्रिया निकै सकारात्मक देखिएको छ। अहिले मौखिक प्रचारको प्रभावशाली भूमिकाबीच ‘महाभोज’ ले दर्शक तान्न सफल हुने संकेत देखिएको छ।काठमाडौँ उपत्यका बाहिर आयोजना गरिएका प्रिमियर शोहरूमा निर्देशक दिनेश राउतसहित कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली र मलिका महतको उपस्थिति दर्शकका लागि थप आकर्षण बनेको थियो।
प्रिमियर कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, र सहकारी घोटालाबाट पीडित नागरिकहरूको समेत उपस्थिति देखिएको थियो। विशेषत सहकारी पीडितहरूले फिल्मलाई यथार्थपरक र चेतनामूलक भन्दै राज्यप्रति दबाब सिर्जना गर्न सबै नागरिकले हेर्नुपर्ने फिल्मका रूपमा मूल्यांकन गरेका छन्।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण गरिएको ‘महाभोज’ का निर्माता हिमाल कडरिया रहेका छन् ।
@parikalanewsofficial
Discussion about this post