इटहरी/ नेपाली संगीतले फेरि एकपटक लण्डनमा आफ्ना सुरहरूको झंकार ल्याउने भएको छ। चर्चित गायिका अञ्जु पन्त र गायक तथा संगीतकार खेम सेन्चुरी बेलायतमा आयोजना हुन लागेको १७औं नेपाली ओपन कन्सर्ट मा विशेष प्रस्तुति दिन लण्डन पुगेका छन्। उनीहरूसँगै ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का चर्चित प्रतिभा विजय मगर पनि यस सांगीतिक यात्रामा सहभागी छन्।
मगर संघ यूकेको आयोजनामा शनिबार सम्पन्न हुने यो भव्य कार्यक्रम लण्डनको फार्नब्रो रग्बी फुटबल क्लब को मैदानमा हुनेछ। बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा ५ हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। ‘एकताको लागि संगीत’ भन्ने नारासहित हुने यो महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्य बोकेको छ।
कलाकारहरूको स्वागत बेलायतस्थित मगर संघका अध्यक्ष लालु पुनले गरेका थिए। उनले बताएअनुसार, यो कार्यक्रम केवल संगीतको लागि मात्र होइन, नेपाली समुदायलाई एकत्रित गराउने साझा मंच पनि हो। बालबालिका, युवा र वृद्धहरूसम्मलाई समेट्ने गरी सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिनेछ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय मेयर, उपमेयर, काउन्सिलरहरू साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि अतिथि रहनेछन् ।
@parikalanewsofficial
Discussion about this post