इटहरी/ निर्देशक माइकल चन्द को पहिलो फिचर फिल्म ‘राम नाम सत्य’ मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छिन्। बुधवार निर्मातासँग लिखित सम्झौता गर्दै उनले फिल्मको शीर्ष भूमिकामध्ये एकमा काम गर्ने निश्चित भएको हो।आफ्नो पछिल्लो रिलिज ‘फेरि रेशम फिलिली’बाट प्रशंसा बटुलेकी सुपुष्पाले ‘राम नाम सत्य’को कथा र भूमिका चित्त बुझेपछि फिल्ममा आबद्ध भएको बताएकी छिन्। निर्देशक चन्दले सुपुष्पाको उचाइ र अभिनय क्षमता दुवै कथाको मागअनुसार मिलेकाले उनलाई अनुबन्धित गरिएको बताए।
यस फिल्ममा सुपुष्पाअघि नै अभिनेत्री दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी थिइन्। फिल्मको मुख्य पुरुष भूमिकामा विराज भट्ट र सुशिल श्रेष्ठ पहिले नै फाइनल भइसकेका छन्।माइकल इन्टरटेन्मेन्ट हाउस को ब्यानरमा बन्ने यो फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङ को लगानी रहनेछ। डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माताको भूमिकामा छन्।एक्सन, प्रेम र सस्पेन्स जनरामा निर्माण हुन लागेको यो फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी निर्माण टिमको छ।

@parikalanewsofficial

















Discussion about this post