इटहरी/ आउँदो शुक्रबार रिलिज हुने प्रतिक्षित नेपाली फिल्म ‘महाभोज’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ। देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकले आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। जेठ ३० गतेलाई प्रदर्शन मिति तय भएको ‘महाभोज’को रिलिज विभिन्न राजनीतिक तथा अन्य आन्दोलनका कारण दुई साता पछि सरेको थियो। यसले गर्दा दर्शकमा फिल्मप्रतिको उत्सुकता झनै बढेको देखिन्छ। वितरकका अनुसार, प्रारम्भिक चरणमै फिल्मले देशभर करिब २०० शो पाएको छ, जुन उत्साहजनक सुरुवात हो।
काठमाडौं, पोखरा र बुटवलमा सम्पन्न प्रिभ्यु प्रिमियर बाट ‘महाभोज’ले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। यी प्रिभ्यु शोहरूमा केही सहकारी पीडितहरूले समेत फिल्म हेर्ने अवसर पाएका थिए। उनीहरूले आफ्नो दबिएको आवाजलाई फिल्मले बुलन्द रूपमा उठाइदिएको भन्दै भावुक प्रतिक्रिया दिएका छन्। पीडितहरूले यो फिल्म धेरैभन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने सन्देशसमेत दिएका छन्।

विकास सुवेदी को लेखन र दिनेश राउत को निर्देशनमा बनेको ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतका दिग्गज कलाकारहरूको अभिनय छ। फिल्ममा सुरक्षा पन्त विशेष भूमिकामा देखिएकी छन्।क्लक वर्क क्रियसन र पिक्चर फ्रेम ले निर्माण गरेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्। ‘महाभोज’ले नेपाली दर्शकलाई कतिको आकर्षित गर्न सक्ला, त्यो त यसको प्रदर्शनपछि नै थाहा हुनेछ।
@parikalanewsofficial












Discussion about this post