इटहरी/ अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल माउन्ट एल्ब्रस ५,६४२ मिटर सफलतापूर्वक आरोहण गरेर आफ्नो साहसिक यात्रामा अर्को महत्त्वपूर्ण खुड्किलो पार गरेकी छिन्। यो कीर्तिमान उनले मंगलबार बिहान १० बजे स्थापित गरिन्, जसको पुष्टि उनको आरोही दल एलिट एक्सिपिडिसनले गरेको छ।
दीयाले सामाजिक सञ्जालमार्फत यो सफलताको खबर साझा गर्दै आफू ‘सेभेन समिट’ अभियानमा थप अघि बढेको जानकारी दिएकी छिन्। यसअघि उनले विश्वको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जारो, र दक्षिण अमेरिकाको अग्लो अकोनकाग्वा हिमाल पनि चढिसकेकी छिन्। उनको यो यात्राले उनलाई सातै महादेशका सर्वोच्च चुचुराहरूमा नेपालको गौरव बढाउने लक्ष्यतर्फ डोर्याएको छ।माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर दीयाले नेपालको राष्ट्रिय झण्डाका साथै तमु समाज र बेलायती गोर्खाको झण्डा पनि फहराइन्। अब उनको नजर उत्तर अमेरिकाको अलास्कास्थित डिनाली, अन्टार्कटिकाको भिन्सोन मासिफ, र इन्डोनेसियास्थित पुन्चक जयामाथि केन्द्रित छ। पेशाले नर्ससमेत रहेकी दीयाका लागि हिमाल आरोहण आर्थिक रूपमा चुनौतीपूर्ण छ।
दीया पुनको परिचय केवल एक सफल पर्वतारोहीमा मात्र सीमित छैन।उनले अभिनय गरेको फिल्म ‘एक्लो’ कान्स फिल्म मार्केटमा समेत पुगेको थियो, जहाँ उनले एक अन्तरिक्षयात्रीको भूमिका निभाएकी छिन्। गत वर्ष रिलिज भएको उनको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’ हिट भएको थियो। यसरी दीयाले कला र साहसिक कार्य दुवै क्षेत्रमा आफूलाई साबित गरेकी छिन्।
@parikalanewsofficial
Discussion about this post