इटहरी/ अभिनेता सौगात मल्ल, जो नेपाली फिल्म छेत्रको एक बहुमुखी प्रतिभाका धनी मानिन्छन्, हालै उनी तीन प्रतीक्षित फिल्म ‘बलिदान’, ‘सिटामोल’ र ‘कल्ली’का फरक-फरक लुक्सका कारण चर्चाको शिखरमा छन् । यी तीनवटै लुक्सले सौगातको अभिनय क्षमता र चरित्रमा ढल्ने उनको अद्भुत कलालाई प्रमाणित गरेका छन् । सार्वजानिक उनको हरेक अवतारले दर्शकमाझ ठूलो उत्सुकता जगाएको छ ।
उनले हालसम्म अभिनय गरेका हरेक फिल्ममा आफ्नो चरित्रलाई न्याय दिने गरेका छन् । उनी चरित्रमा गहिरिएर डुब्न सक्ने क्षमता राख्छन्, जसले गर्दा उनले खेलेका पात्रहरू जीवन्त लाग्छन् । चाहे त्यो खलनायकको भूमिका होस् वा हास्य चरित्रको, सौगातले हरेक पटक आफूलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् । फिल्म ‘बलिदान’ दशैँको फूलपातीमा सार्वजनिक हुँदै छ । यस फिल्ममा सौगातको लुक्स गम्भीर र शक्तिशाली देखिन्छ ।
उनको अनुहारको दृढता र आँखाको भावले फिल्म देशप्रेम वा कुनै महत्त्वपूर्ण उद्देश्यमा केन्द्रित हुन सक्ने सङ्केत दिन्छ । यस्तै उनको अर्को फिल्म ‘सिटामोल’ साउन २३ गते रिलिजको तयारीमा छ । यो फिल्म टिमले पनि उनको क्यारेक्टर लुक्स सार्वजनीक गरेको छ । ‘सिटामोल’मा सौगातको लुक्स केही फरक प्रकृतिको छ । यो लुक्सले फिल्म सामाजिक यथार्थतामा आधारित हुन सक्ने अनुमान लगाउन सकिन्छ । अपाङ्गता भएका उनले बैशाखी टेक्दै गरेको पीडादायी चरित्रमा उनी देखिएका छन् ।
यता उनको अर्को फिल्म ‘कल्ली’ फागुन १ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘कल्ली’ मा सौगातको लुक्स रहस्यमय र पूर्णत भिन्न छ । यसले फिल्मको कथावस्तुमा गहिरो र अप्रत्याशित मोडहरू हुन सक्ने सङ्केत गर्छ । जटिल र रहस्यमय पात्रहरूलाई जीवन्त बनाउन माहिर सौगातले यो लुक्समार्फत दर्शकलाई पात्रको मनोविज्ञानभित्र प्रवेश गराउनेछन् । एक पोष्टरमा उनी विद्रोही स्वभाव सहित आक्रमणमा उत्रिएको देखिन्छ ।
सौगात मल्लका यी तीनवटै लुक्स आ-आफ्नो ठाउँमा शक्तिशाली छन् । हरेक लुक्सले एउटा फरक कथा बोकेको छ र सौगातको अभिनय यात्राको अर्को पाटोलाई प्रस्तुत गरेको छ । ‘बलिदान’को आक्रोश, ‘सिटामोल’को सामाजिक पीडा र ‘कल्ली’को विद्रोही र रहस्यमयताले सौगातलाई भर्सटायल अभिनेतामा फेरि एकपटक प्रमाणित गरेको छ । दर्शकहरूले कुन लुक्सलाई सबैभन्दा बढी मन पराउँछन्, त्यो त फिल्म प्रदर्शनमा आएपछि नै थाहा हुनेछ । तर उनका यी तीन फरक अवतारले उनको क्रेजलाई अझ बढाउनेछन् ।
@parikalanewsofficial
Discussion about this post