इटहरी/ नेपाली ग्रामीण जीवनशैलीमा आधारित सामाजिक कथानक फिल्म ‘मिरमिरे’ मार्फत अभिनेता दयाहाङ राई र प्रकाश सपूत पहिलोपटक एउटै पर्दामा देखिने भएका छन् । यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुँदै गरेको यो फिल्मले गाउँको परिवेश, संघर्ष र सम्बन्धको कथा भन्ने निर्देशक यम शेर्पाले जनाएका छन् । ‘कार्साङ’बाट निर्देशनमा परिचित भएका यम शेर्पाको यो दोस्रो फिल्म हो ।
केही साताअघि यो फिल्ममा दयाहाङ राई अनुबन्ध भएका थिए भने हालै प्रकाश सपुत पनि यो फिल्मका लागि प्रमुख कलाकारमा जोडिएका हुन् । निर्देशक शेर्पाले ‘मिरमिरे’लाई आफ्नो नयाँ र सशक्त प्रस्तुति बनाउने लक्ष्य राखेका छन् । अन्य कलाकार टुंगो लाग्न बाँकी रहेको र हाल सम्झौताको प्रक्रिया जारी रहेको यमले जानकारी दिए । अहिले अभिनयमा मात्र होइन, संगीतमा पनि पहिचान बनाएका प्रकाश सपूतले यस फिल्ममा अभिनयमार्फत नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले आफ्नो भूमिका विशेष र अर्थपूर्ण रहेको बताए । यमले फिल्मको कथा मात्र नभई प्राविधिक पक्ष, कलाकार छनोटदेखि वितरणसम्म सबै क्षेत्रमा उच्च मापदण्ड अपनाइने दाबी गरेका छन् । “बजारले रुचाएका र अभिनयमा दक्ष कलाकारहरूसँग काम गर्दैछौँ,” यमको भनाई छ ।
@parikalanewsofficial
साथसाथै, सपूत फिल्ममा संगीत पक्षमा समेत रहने वा नरहने भन्नेबारे निर्णय पछि खुलाइने यमको भनाइ छ । फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन् । ‘मिरमिरे’ यही २०८२ सालमा नै प्रदर्शनमा ल्याउने निर्माण युनिटको लक्ष्य रहेको छ, यद्यपि मिति भने तोकिएको छैन । यो फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।
Discussion about this post