इटहरी/ नेपाली फिल्म ‘महाराजधिराज’ ले नयाँ पुस्ता र पुराना पुस्तालाई एउटै फ्रेममा प्रस्तुत गर्ने तयारी पूरा गरेको छ । अर्थात् यो फिल्मका प्रमुख कलाकारहरूको लाईनअप पूरा भएको छ । निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेत्री उषा रजकको प्रवेशसँगै मुख्य कलाकारहरूको लाइनअप पूरा भएको निर्माण युनिटले जनाएको छ ।
सोमबार निर्माण पक्षले रजकलाई प्रमुख भूमिकामा अनुबन्ध गरेको घोषणा गर्दै फिल्मको प्रमुख स्टारकास्ट टुंगिएको हो । यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, जय किशन बस्नेत, गजित विष्ट जस्ता चर्चित अभिनेता फाइनल भइसकेका थिए । यस्तै वर्षा राउत र वर्षा शिवाकोटी, आशा पौडेल पनि यो फिल्ममा प्रमुख भूमिकामा देखिँदै छन् । यो फिल्ममा निर्देशक सेनले कथा लेखन पनि आफैंले गरेका हुन् ।
प्रस्तुतकर्ता विराज बिष्टका अनुसार, ‘हामीले अभिनयमा अनुभवी र स्थापित अनुहारहरूलाई संलग्न गरेका छौं । अब केही सहायक भूमिकाको छनोट मात्रै बाँकी छ।’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने‘महाराजधिराज’ को निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । फिल्म आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ भने छायांकन मिति र प्राविधिक टोलीको विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ ।
@parikalanewsofficial
Discussion about this post