इटहरी/ सामाजिक र सांस्कृतिक कथा बोकेको फिल्म ‘जन्ते बाख्रो’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दुई दिनमै फिल्मले उल्लेख्य दर्शक आकर्षणसहित सकारात्मक प्रतिक्रिया बटुलेको निर्माण टिमको दाबी रहेको छ।
निर्देशक सिमोस सुनुवारद्वारा निर्देशित र सन्तोष गौतमको निर्माणमा बनेको फिल्मले दर्शकहरूमाझ ग्रामीण परम्परा र संस्कृति झल्काउने मनोरञ्जनात्मक प्रस्तुति दिएका कारण राम्रो साथ पाएको हो। शुक्रबार र शनिबार निर्माण युनिट स्वयं विभिन्न हलहरूमा पुगेर दर्शकको प्रतिक्रिया संकलनमा व्यस्त देखिएको थियो।अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माले दर्शकमाझ पुगेर फिल्मको अनुभव साटेका छन्। निर्माता गौतमले फिल्मको सफलतामा टीमवर्क र इमानदारीपूर्ण प्रयासको भूमिका रहेको बताए। “हामीले फिल्म मनदेखि बनाएका थियौं, त्यसैले दर्शकको साथ पाउनु हाम्रो लागि ठूलो सफलता हो,” उनले भने।
‘जन्ते बाख्रो’ ले हराउँदै गएको नेपाली गाउँघरको जन्ती संस्कार, टपरी-दुना संस्कृतिमा भोज खाने परम्परा, र ग्रामीण जीवनशैलीलाई हास्यरस मिश्रित रोचक ढंगमा प्रस्तुत गरेको छ।फिल्ममा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, र समापिका गौतमलगायत कलाकारको अभिनय देख्न पाइन्छ। कथावस्तु प्रदीप भारद्वाजले लेखेका हुन् भने छायांकन उत्तम हुमागाईं र सम्पादन सुनिल शिव भक्तिले गरेका छन्। फिल्म मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।
@parikalanewsofficial
Discussion about this post