इटहरी/ नजिकिँदै गरेको संविधान दिवसको अवसरमा, नेपाली फिल्म छेत्रमा नयाँ आयाम थप्न ‘सोल्टिनी’ फिल्म प्रदर्शनमा आउने भएको छ। यसैको पूर्वसन्ध्यामा, दर्शकमाझ उत्सुकता जगाउन फिल्मको पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ।
यस गीतले पूर्वेली मारुनी भाकालाई पुनर्जीवन दिएको छ, जुन करिब ७/८ वर्षपछि नेपाली फिल्ममा समावेश भएको छ। प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वरमा सजिएको यो गीत, अस्मिताको पहिलो मारुनी अनुभव पनि हो। गीतको संगीत र शब्द सिर्जना स्वयं प्रशान्त सिवाकोटीले गरेका छन्। भोजपुरको सुन्दर पृष्ठभूमिमा छायांकन गरिएको यस गीतको भिडियोमा प्रकाश सपुत र परीक्षा लिम्बूसँगै सुन्दर धिताल र सब्बु गुरुङको मनमोहक नृत्य देख्न सकिन्छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
निर्देशक अर्जुन सुवेदीका अनुसार ‘सोल्टिनी’ ले दर्शकलाई फरक कथावस्तु पस्किनेछ। फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावजस्ता संवेदनशील विषयमाथि आवाज उठाउनेछ भने प्रकाश सपुत र परीक्षा लिम्बुको प्रेम कथाले दर्शकलाई बाँधेर राख्नेछ। यो जोडी पहिलो पटक ठूलो पर्दामा एकसाथ देखिँदैछ।इलाम, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी, र भोजपुरका मनमोहक दृश्यहरूमा छायांकन गरिएको यो फिल्मले भौगोलिक विविधतालाई पनि समेटेको छ।
फिल्ममा प्रकाश र परीक्षाका साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ।’सोल्टिनी’ का गीतहरूमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले संगीत दिएका छन् भने सुशन प्रजापतिले यसको छायांकन गरेका हुन्। चलचित्रको लेखन अर्जुन सुवेदी र कुमार भट्टराईले संयुक्त रूपमा गरेका छन्।
प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन्। रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटीको जिम्मेवारी लिएका छन्। नेपालमा आरआर फिल्म्स प्रा.लि.ले यसको वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ।
@parikalanewsofficial
Discussion about this post