इटहरी/ नेपाली फिल्म उद्योगमा अर्को महत्त्वाकांक्षी परियोजनाको घोषणा भएको छ ‘रातो पासपोर्ट’। युरोपेली मुलुकहरूमा स्थायीत्वको खोजीमा पुगेका नेपालीहरूको जीवन, संघर्ष र सपनाको अन्तरवस्तुमा आधारित यो फिल्मले प्रवासी नेपाली समुदायको यथार्थलाई पर्दामा उतार्ने उद्देश्य लिएको छ।
सिबर्ड्स पिक्चर्स र होप्स बजको संयुक्त प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण हुन लागेको फिल्मको निर्देशन सिमसोन तामाङले गर्नेछन्। लामो समयदेखि नेपाली फिल्म उद्योगमा एक्सन निर्देशक र सहायक निर्देशकको रूपमा क्रियाशील रहेका तामाङले यस फिल्म मार्फत निर्देशनको नयाँ पाटोमा पाइला टेक्दैछन्।फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवादको जिम्मेवारी प्रदीप कुमार चौधरीले सम्हालेका छन्।
आधिकारिक घोषणा भन्दा केही दिनअघि निर्माण पक्षले सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै भनेका थिए “सबै भन्छन्, त्यता गएपछि सेटल भइन्छ रे। परिवारको भविष्य सुरक्षित हुन्छ रे। रातो पासपोर्ट पाइन्छ रे…!” सो सन्देशले फिल्मको भावभूमिमा रहेका सामाजिक र भावनात्मक पक्षहरूतर्फ ध्यानाकर्षण गराएको थियो।फिल्मको औपचारिक घोषणा भने आइतबार गरिएको हो, जहाँ सार्वजनिक गरिएको पोस्टरले पोर्चुगलको पासपोर्टको कभर पृष्ठलाई प्रेरणाको स्रोत बनाएको छ।
निर्माण टोलीमा लोक बहादुर तामाङ निर्माता तथा प्रवेश पौडेल कार्यकारी निर्माता रहेका छन्। पौडेल यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्, र यसपटक निर्माता भूमिकामा आबद्ध भएका छन्।प्राविधिक पक्षमा फिल्मको लागि अनुभवी टिम परिचालित गरिएको छ। छायांकन रवीन्द्र न्यौपानेले सम्हाल्नेछन् भने संगीत संयोजनमा जयन जे. वाइबा संलग्न हुनेछन्। मेकअप र एसएफएक्स डिजाइन अमृत मरहट्ठाले गर्नेछन्। प्रचारप्रसार सामग्रीको निर्माण ट्राइडेन्ट कन्सेप्ट अन्तर्गत रोयल भीमसेनको नेतृत्वमा गरिनेछ।निर्देशक तामाङले यसअघि ‘लभ सब’, ‘ब्ल्याक फ्ल्याग’,‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका फिल्ममा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा योगदान पुर्याइसकेका छन्। साथै, ‘धन्य माया जाल’, ‘असुर: द मिस्ट्री’ हिन्दी तथा ‘लप्पन छप्पन २’ मा एक्सन निर्देशकको रूपमा कार्य गरेका छन्।
कलाकार छनोट प्रक्रिया चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ। नेपालमा हुने अडिसनका साथै युरोप र युकेमा रहेका कलाकारहरूलाई समेत छनोट गर्न अन्तर्राष्ट्रिय अडिसनको व्यवस्था गरिने योजना कार्यकारी निर्माता पौडेलले खुलाएका छन्।फिल्मको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही मुलुक तथा नेपालमा हुने तय भएको छ।‘रातो पासपोर्ट’ केवल प्रवासको सपनाको कथा होइन, त्यो सपना पछाडि लुकेका यथार्थ, संघर्ष र मूल्यहरूको प्रतिबिम्ब पनि हो जसले दर्शकलाई भावनात्मक र सामाजिक दृष्टिले झकझक्याउने अपेक्षा गरिएको छ।
@parikalanewsofficial
Discussion about this post