इटहरी/ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ ले आफ्नो पहिलो झलक देखाएको छ। निर्माण पक्षले आइतबार यस फिल्मको पोस्टर सार्वजनिक गरेको हो।सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य कलाकार बेनिशा हमाल बारमा तनावग्रस्त मुद्रामा देखिएकी छिन्। नीलो प्रकाशले घेरिएको वातावरण, उनको औंलामा चुरोट र अगाडि रक्सीको ग्लासले उनी एक बारगर्ल भएको र कुनै गहिरो पीडामा रहेको संकेत गर्छ। यो कुनै धोका वा निराशाको परिणाम हुन सक्ने अनुमान लगाउन सकिन्छ, यद्यपि फिल्म निर्माण पक्षले यसबारे थप केही खुलाएको छैन। उनीहरूले बेनिशाको भूमिका र फिल्मको कथा विस्तारै सार्वजनिक गर्दै जाने बताएका छन्। यस पोस्टरले काठमाडौँको रंगीन नाइटलाइफभित्र लुकेका तनाव र त्यसको मनोवैज्ञानिक पाटो देखाउने सम्भावनालाई इङ्गित गरेको छ।
गत बिहीबारबाटै छायाङ्कन सुरु भइसकेको यो फिल्म काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा २० दिनसम्म खिचिनेछ। ‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गरिरहेका छन्। प्रतिक्षित फिल्म ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो डेब्यु निर्देशन हो। यसअघि सार्वजनिक भएको फिल्मको थिम पोस्टरमा पनि रहस्यमय नीलो वातावरणमा एक बालिकाको विछिप्त मुद्रा देखाइएको थियो, जसले फिल्मको मनोवैज्ञानिक थ्रिलर जनरा लाई थप पुष्टि गर्छ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको ‘द ब्ल्यू लाइट’ मा बेनिशा हमालका साथै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी जस्ता स्थापित कलाकारहरू मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
यो फिल्ममा नरेन्द्र मैनाली छायाकार र कार्यकारी निर्माता दुवैको भूमिकामा छन् भने बेनिशा हमाल पनि कार्यकारी निर्माताको रुपमा छिन्। रमन ग्रे सह-निर्माताको रुपमा छन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकको जिम्मेवारीमा छन्। निर्देशक चौहानका अनुसार ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा आउनेछ।
@parikalanewsofficial














Discussion about this post