इटहरी/ विजय केरुङको निर्देशनमा बन्ने फिल्म ‘परिवर्तन’ को शुभ मुहूर्त झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा भव्य पूजा-अर्चनासहित सम्पन्न भएको छ। यससँगै, पर्दामा नयाँ कथा लिएर आउने यस फिल्मको छायाङ्कन पनि औपचारिक रूपमा सुरु भएको छ।अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने यस फिल्मको मुहूर्त सट मेयर बलदेवसिंह गोम्देन तामाङले ‘एक्सन कट’ भन्दै सुरु गरेका थिए भने, मुकेश लिम्बुले ‘क्ल्याप’ हाने।
फिल्मको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थानहरू झापा, विराटनगर र इलाममा करिब ४० दिनसम्म चल्नेछ। निर्माण पक्षले यसै वर्षभित्र दर्शकमाझ फिल्म ल्याउने लक्ष्य राखेको छ।दिब्यासी फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुःखी तथा असहाय जनताको पीडादायी यथार्थ लाई पर्दामा उतार्नेछ। यसको कथा स्वयं निर्माता दीपक सिवाकोटीले लेखेका हुन्।
फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइलीका साथै सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायतका कलाकारहरूको अभिनय रहनेछ।फिल्मको पटकथा तथा संवादशिवम अधिकारीलेतयार पारेका छन्। शिव ढकालले छायाङ्कन निर्देशनको जिम्मा लिएका छन् भने भूपेन्द्र अधिकारीले सम्पादन गर्नेछन्। द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले र पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन्। निर्देशकका सहायक नवराज शर्मा र प्रोडक्सन हेड अरुण रेग्मी हुन्।
रोचक कुरा के छ भने, ‘परिवर्तन’ नाममा वि.सं. २०२८ सालमा हिरा सिंह खत्रीले निर्देशन गरेको एउटा फिल्म पनि बनेको थियो। झन्डै पाँच दशकपछि, सोही नाममा एउटा शक्तिशाली कथा लिएर यो नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउँदैछ। यसले नेपाली सिनेमामा कस्तो ‘परिवर्तन’ ल्याउँछ, त्यो हेर्न बाँकी नै छ।
@parikalanewsofficial
Discussion about this post