इटहरी/ नेपाली फिल्म उद्योगमा यतिबेला निर्देशक कृषा चौलागाईको नामले राम्रै चर्चा बटुलिरहेको छ। उनको पछिल्लो सफल निर्देशन ‘पिताम्बर’ ले उनलाई एक आँटिलो र दूरदर्शी निर्देशकका रूपमा स्थापित गरेको छ। मल्टीस्टारर कलाकारहरूको कुशल संयोजन र एक्सन जनराको सफलतापूर्वक ह्यान्डलले उनलाई अहिले सर्वाधिक खोजिएका निर्देशकहरूको सूचीमा उभ्याएको छ। यसै क्रममा, कृषाले हालै जापान भ्रमणका दौरान एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रोजेक्टमा हस्ताक्षर गरेकी छिन्, जसले उनको करियरमा अर्को फड्को ल्याउने निश्चित छ।
एक हप्ता लामो जापान बसाइका क्रममा कृषाले यूएनए प्रोडक्सन सँग नयाँ फिल्मका लागि सम्झौता गरेकी हुन्। यो प्रोजेक्ट विशेष छ किनभने यसमा नेपाल, भारत र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्नेछन्। यसले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ। फिल्मको निर्माणमा जापानको एक टिमले पनि सहकार्य गर्नेछ, जसले फिल्मको प्राविधिक तथा निर्माण पक्षलाई थप बलियो बनाउनेछ। जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सन मार्फत निर्माणमा हात हालेको हो। यस सम्झौतामा यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाईं र निर्देशक कृषा चौलागाईबीच हस्ताक्षर भएको छ।
यो प्रोजेक्टका लागि कृषा चौलागाईले निकै उच्च पारिश्रमिक लिएको बताइएको छ, यद्यपि निर्माण पक्षले रकम भने सार्वजनिक गरेको छैन। फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु हुनेछ। नेपाल, जापान र फिलिपिन्सका विभिन्न रमणीय स्थानहरूमा यसको सुटिङ गरिने योजना छ। निर्माण पक्षले फिल्मको नाम र कलाकारहरूको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने बताएको छ।
@parikalanewsofficial
‘पिताम्बर’ को सफलतापछि निर्देशक कृषा चौलागाईले नयाँ प्रोजेक्टमा जोडिन पाउँदा उत्साह व्यक्त गरेकी छिन्। उनले दर्शकको अपेक्षालाई कायम राख्दै उच्चस्तरीय काम गर्ने जनाएकी छिन्। हाल, यस फिल्मको स्क्रिप्ट लेखन अगाडि बढिरहेको छ। यो परियोजनाले कृषाको निर्देशन क्षमतालाई थप निखार्दै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।












Discussion about this post