इटहरी/ आठ वर्षपछि फिल्म ‘नरसिंहाः अवतार’ मार्फत ठूलो पर्दामा फर्किएका नेपाली फिल्म जगतका ‘महानायक’ राजेश हमाल अहिले देशभर दर्शकमाझ पुगिरहेका छन्। उनको यो अभूतपूर्व देश दौडाहाले नेपाली फिल्मको प्रचार प्रसारमा नयाँ आयाम थपेको छ, किनकि हमालले यसअघि कुनै पनि फिल्मका लागि यसरी सक्रिय रूपमा प्रचार गरेको विरलै देखिन्थ्यो। फिल्म रिलिज हुनुअघि मिडियामा होस् वा रिलिज भएपछि हल हलमा पुगेर दर्शक भेट्ने कुरा, हमालको उत्साह चुलिएको छ।

राजेश हमाल हल हलमा पुगेर प्रचार गरिरहँदा कतिपयले ‘महानायक’ को ब्रान्डले यसरी हलमा पुग्नु नपर्ने भन्दै आलोचना पनि गरे। तर, हमालले यसलाई दर्शकहरूसँग प्रत्यक्ष जोडिने र माया साट्ने दुर्लभ अवसरका रूपमा लिएका छन्। काठमाडौं बाहिर पूर्वका सम्पूर्ण प्रमुख फिल्मी स्टेशनदेखि पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका शहरहरूमा पनि उनी पुगेर दर्शकसँग सीधा कुराकानी गरे।
यस फिल्मको प्रचारका क्रममा उनले कहिल्यै पनि अंगरक्षक को माग गरेनन्। आजकलका नयाँ पुस्ताका नायकहरू पत्रकार सम्मेलनमै पनि सुरक्षाकर्मी खोज्छन्, तर हमालले भने देश दौडाहाका क्रममा दर्शकसँग प्रत्यक्ष कुराकानी गरे, सहजै फोटो खिचे र घुलमिल भए। यसले गर्दा उनले आफू अझै पनि फिल्म क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्ना प्रोजेक्ट सफल बनाउन पूर्ण रूपमा लागिपर्ने सन्देश दिन सफल भएका छन्।
@parikalanewsofficial
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा राजेश हमालसँगै राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, टार्जन, रमेश चन्द सोडारी, राजीव जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारको अभिनय छ।निर्माण पक्षले सार्वजनिक गरेको तथ्यांकअनुसार, फिल्मले पहिलो सातामा २ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यस फिल्मका निर्माता हुन्।
















Discussion about this post