इटहरी/ आउँदो भदौ ६ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ ले आफ्नो नाम परिवर्तन गरेको छ । अब यो फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को नामबाट दर्शकमाझ आउने भएको छ । निर्माण टिमले हालै फिल्मको मुख्य अभिनेता विजय बरालको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै नाम परिवर्तनको जानकारी दिएको हो । यो फिल्मको २ दिनपछि आमा बोलको गीत सार्वजनिक हुँदै छ । जहाँ केकी अधिकारी आमाको भूमिकामा देखिनेछन् ।
यो फिल्मको कथावस्तुलाई लिएर हुनसक्ने विवादलाई मध्यनजर गर्दै निर्माण पक्षले फिल्मको नाममा ‘बाहुन’को सट्टा ‘मान्छे’ शब्द राखेको बताइएको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेता बराल गाउँले पहिरनमा देखिन्छन् । रातो ढाकाको टोपी र रातो सर्टमा सजिएका उनले दुईवटा झोला बोकेका छन् भने निधारमा टीका लगाएको देखिन्छ । पोस्टरमा उनकी आमाले आशीर्वाद दिइरहेको दृश्यले फिल्ममा आमा र छोराको गहिरो सम्बन्धलाई दर्शाउँछ ।
मलिन अनुहारमा घर छोड्दै गरेको भावले फिल्ममा गाउँबाट सहर गएर संघर्ष गर्ने युवाको कथालाई प्रस्तुत गर्न खोजिएको अनुमान गर्न सकिन्छ । निर्माण पक्षले विजय बराललाई ‘एपिक नेचुरल स्टार’को रूपमा प्रस्तुत गरेको छ । हिमाल न्यौपानेद्वारा निर्देशित यो फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको छ । प्रेमगीत ३ का अभिनेता मनिष राउत यस फिल्ममा असोसिएट निर्देशकको रूपमा छन् ।
@parikalanewsofficial
काठमाडौं उपत्यका र काभ्रेका रमणीय स्थानहरूमा छायांकन गरिएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ । यसअघि ‘पूर्णबहादुरको सारंगी’ जस्तो सफल फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका विजय बराल र केकी अधिकारीको जोडीलाई दर्शकहरूले यस फिल्ममा पनि हेर्न उत्सुकता देखाएका छन् ।
Discussion about this post