इटहरी/फिल्म ‘महाभोज’ ले अब आफ्नो विश्व प्रिमियर अस्ट्रेलियाको पर्थबाट गर्ने भएको छ। नेपालमा जेठ १५ गते गणतन्त्र दिवसका दिनप्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म अन्तिम समयमा स्थगित भएपछ अब आगामी जुन १, शनिवार का दिन पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा साँझ ६ बजे प्रिमियर हुने निश्चित भएको हो। यो प्रिमियरको व्यवस्थापन पर्थका आयोजक र अस्ट्रेलियाका वितरक रोटेपिङ इन्टरटेन्मेन्ट ले गरिरहेका छन्।
‘महाभोज’ को नेपाल प्रदर्शन रोकिनुको मुख्य कारण देशमा देखिएको राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम थियो। काठमाडौँसहित देशभरको अवस्थालाई मध्यनजर गर्दै फिल्मको रिलिज स्थगित गर्ने निर्णयमा निर्माण टिम पुगेको थियो। नेपाली समाजको समसामयिक विषयवस्तु बोकेको यो फिल्मलाई यस्तो संवेदनशील परिस्थितिमा प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको हो।
नेपालमा प्रदर्शन स्थगित भए पनि अस्ट्रेलियाको प्रिमियरको मिति भने यथावत् राखिएको छ। तर, समय अभाव र तयारीको व्यस्तताका कारण फिल्मका प्रमुख कलाकार र निर्देशक यस प्रिमियरमा सहभागी हुन नसक्ने भएका छन्। यद्यपि, केही दिनपछि अस्ट्रेलियाका अन्य सहरहरूमा हुने शोहरूमा भने उनीहरू सहभागी हुनेछन्।निर्देशक दिनेश राउत को ‘महाभोज’ ले सहकारी ठगीले पारेको प्रभाव र यसले समाजमा पारेको असरलाई मनोरञ्जनात्मक र भावनात्मक ढङ्गमा प्रस्तुत गर्छ। फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। क्लकरवर्क क्रिएसन र पिक्चर फ्रेम को संयुक्त प्रस्तुति रहेको यो फिल्मका निर्माता हिमाल कडरिया हुन्।

हालै काठमाडौँमा आयोजित फिल्मको प्रिभ्यु शोमा सहकारी पीडितहरू, पत्रकारहरू र फिल्म युनिट को उपस्थिति थियो। प्रिभ्युपछि फिल्मको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ। सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गर्न सफल भएको भन्दै फिल्मको प्रशंसा भएको छ।नेपालमा प्रदर्शन ढिलाइ भए पनि अन्तर्राष्ट्रिय बजारबाट उत्साहजनक संकेत पाएको ‘महाभोज’ ले अस्ट्रेलियाबाट सुरु हुने आफ्नो अन्तर्राष्ट्रिय यात्रामा कस्तो छाप छोड्छ भन्ने कुरामा नेपाली फिल्म क्षेत्रले नजिकबाट नियालिरहेको छ।
@parikalanewsofficial














Discussion about this post