इटहरी/८ वर्षपछि पर्दामा फर्किएका महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘नरसिंहाः अवतार’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। निर्माण पक्षका अनुसार, यो फिल्मले रिलिजको पहिलो सातामै दुई करोड चार लाख रुपैयाँ ग्रस कारोबार गर्न सफल भएको छ।सामान्यतया प्रचारप्रसारमा खासै नदेखिने राजेश हमाल यसपटक भने फरक शैलीमा प्रस्तुत भएका छन्। ‘नरसिंहाः अवतार’ को प्रमोशनका लागि उनी राजधानीका हलहरूमा मात्र नभई देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाटमा सक्रिय छन्। फिल्म रिलिजको प्रारम्भिक दिनमै काठमाडौँका प्रमुख हलहरूमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेका हमाल अहिले देशव्यापी भ्रमणमा छन्।
पूर्वी नेपालका विभिन्न स्थानमा पुगेका हमाल,हाल पश्चिम नेपालको दौडाहामा छन्। यस अभियानमा उनलाई अभिनेता राज कटुवाल, नायिका सनिशा भट्टराई र वितरक छविराज ओझाले साथ दिएका छन्।उपत्यकामा फिल्म वितरण गरिरहेका करण श्रेष्ठका अनुसार, दोस्रो सातामा समेत फिल्मप्रति दर्शकको उत्साह घटेको छैन। धेरै दर्शकले हमालको अभिनयले फिल्मलाई विशेष बनाएको प्रतिक्रिया दिएका छन्।
दीवाकर भट्टराई निर्देशित यो फिल्ममा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। ‘क्रियटिभ सिने आर्ट्स’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले लगानी गरेका छन्। फिल्मको छायांकन राजु विक्रम थापाले गरेका हुन् भने सम्पादनको जिम्मेवारी साहिल खानले सम्हालेका छन्।

@parikalanewsofficial














Discussion about this post