इटहरी/ कोशी प्रदेशको राजधानी बिराटनगरमा चाँदनी फिल्मस्को आयोजनामा आजदेखि “नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा ३ दिने चलचित्र कार्यशाला-२०८२” सुरु भएको छ । आज बिराटनगर बसपार्क नजिकैको आरके पार्टी प्यालेसमा आयोजित यो कार्यक्रमको भव्य उद्घाटन समारोहमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि थिए । मन्त्री भण्डारीले दीप प्रज्वलन गरी तीनदिने गोष्ठी तथा कार्यशालाको शुभारम्भ गरे ।
कार्यक्रमको सभापतित्व मधु पोख्रेलले गरेका थिए भने कार्यक्रम संयोजक, आयोजक संस्था चाँदनी फिल्मस् बिराटनगरका केशव रायमाझी रहेका थिए । कार्यक्रममा विशिष्ट साहित्यकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा “नेपाली चलचित्रमा साहित्य” विषयक विचार गोष्ठीमा अग्रज साहित्यकार तथा चलचित्रकर्मीहरूले आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए ।
सोही अवसरमा चलचित्र, कला, संस्कृति र नृत्य क्षेत्रमा दीर्घकालदेखि योगदान पुर्याउँदै आएका चार व्यक्तिलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरूमा कलाकार तथा ब्लक बस्टर भएको नेपाली फिल्म ‘१२ गाउँ’ लेखक सन्तोष सरकार, नृत्यकार बबिता भुषाल, नृत्य निर्देशक सम्झना दाहाल र गायक दिनेश राई रहेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न जातिय नृत्यहरू प्रस्तुत गरिनुका साथै वरिष्ठ गायक रामा मण्डल र नितिन गजुरेलले आफ्ना लोकप्रिय गीतहरू गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।
@parikalanewsofficial
उद्घाटन समारोह लगत्तै “चलचित्र निर्माण कार्यशाला” पनि सुरु भएको छ । आयोजकका अनुसार यो कार्यशाला भोलि र पर्सी पनि सञ्चालन हुनेछ । विराटनगरका २० जना कलाप्रेमीहरूको सहभागिता रहेको यो कार्यशालामा अनुभवी कलाकार तथा निर्देशक विजय संयोक सुब्बाले प्रशिक्षण दिनेछन् । उनले सहभागीहरूलाई अभिनय, निर्देशन, कथा लेखन लगायत चलचित्र निर्माणका आधारभूत पक्षहरू बारे प्रशिक्षण दिनेछन् । नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना भएको यो कार्यशाला यही वैशाख १७ गते समापन हुने आयोजकले जनाएको छ ।
Discussion about this post