इटहरी/ यतिबेला देश सहकारी ठगीको मुद्दाले तातिरहेको छ, जसमा रवि लामिछाने पुनः हिरासतमा पुगेका छन् । संयोग कस्तो भयो भने, यही समयमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को ट्रेलरले पनि सहकारी ठगीकै कथालाई उठाएको छ । ट्रेलर सार्वजनिक भएदेखि नै दर्शकहरूले यो फिल्म रवि लामिछानेको वास्तविक जीवन कहानीसँग मेल खान्छ कि भनेर अड्कलबाजी गरिरहेका छन् । फिल्मको नारा ‘सत्य कहिल्यै लुक्दैन!’ ले पनि धेरैको ध्यान खिचेको छ ।
केही अघि फिल्म युनिटले एकसाथ सत्य कहिले लुक्दैन भन्दै फेसबुकमा स्ट्याटस लेखेपछि छुट्टै तरंग समेत पैदा भएको थियो । सार्वजनीक ट्रेलरमा देखाइएका दृश्यहरूले सहकारीमा सर्वसाधारणको डुबेको पैसा, राजनीतिक चलखेल र सत्ताको दुरुपयोगलाई चित्रण गर्छ । अभिनेता दयाहाङ राई फिल्ममा एक सहकारी सञ्चालक समितिको अध्यक्षको भूमिकामा देखिन्छन्, तर उनको चरित्र सकारात्मक छ कि नकारात्मक भन्ने रहस्य कायमै छ ।
@parikalanewsofficial
गाउँपालिका अध्यक्षको भूमिकामा रहेका आर्यन सिग्देल र दयाहाङबीचको टकरावले कथालाई अझ रोचक बनाएको छ । खगेन्द्र लामिछाने एक यस्ता पीडितको भूमिकामा छन्, जसको ‘मान्छे मार्ने मात्र हत्यारा होइन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हो’ भन्ने संवादले धेरै सहकारी पीडितको आवाजलाई प्रतिनिधित्व गर्छ । यता अञ्जना बराइलीले खगेन्द्रकी श्रीमतीको भूमिकामा आर्थिक संकट झेल्दै गरेको चित्रण गरेकी छन् भने मलिका महत जागिरको प्रलोभनमा फसेकी युवतीको रूपमा देखिएकी छन् ।
दयाहाङकी पत्नीको भूमिकामा रहेकी गौमाया गुरुङको चरित्रले पनि दर्शकको मन छुने देखिन्छ । ‘महाभोज’ ले सहकारी ठगीमा व्यक्ति मात्र दोषी हुन्छन् वा यसमा निहित प्रवृत्ति पनि जिम्मेवार छ भन्ने गम्भीर प्रश्न उठाएको छ । यो फिल्म जेठ १५ गतेबाट देशभरका फिल्म हलहरूमा प्रदर्शन हुँदैछ । दर्शकहरूले यसलाई रवि लामिछानेको हाल चलिरहेको वास्तविक अवस्थासँग जोडेर हेर्ने हुनाले ‘महाभोज’को प्रतिक्षा झनै बढेको देखिन्छ ।














Discussion about this post