इटहरी/ हाल म्याग्दीको दरबाङ क्षेत्रमा छायांकन भइरहेको नेपाली फिल्म ‘माइतीघर’ को छायांकन सेटबाट चर्चित हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को नयाँ लुक्स सार्वजनिक गरिएको छ । उनको यो दोश्रो पटक लुक्स सार्वजनिक भएको हो। यसअघि उनको खाटमा बसेर हसिलो मुहारमा मोबाईल चलाउदै गरेको लुक्स सार्वजनिक भएको थियो। सो बेला धेरैले उनको मुखिया लुक्स भनेर चर्चा चलेको थियो भने हालै सार्वजनिक लुक्समा उनी त्रिशुल र डमरु बोकेका, रुद्राक्षको माला र जटाधारी स्वरूपमा शिवभक्त बाबाको भूमिकामा देखिएका छन् ।
माग्ने बुढाको यस्तो फरक अवतार दर्शकमाझ अहिले नै चर्चा र कौतूहलको विषय बनेको छ । एकै फिल्मको उनको २ लुक्स सार्वजनिक हुँदा फिल्ममा उनको कस्तो चरित्र छ भन्ने विषय प्रतिक्षित बनेको छ । फिल्मको छायांकन हिमाली गाउँ ताकम र धारापानीमा सकिएपछि अहिले म्याग्दीको दरबाङस्थित खोला किनारमा भइरहेको छ । निर्माता रोहित अधिकारीका अनुसार फिल्मको ८० प्रतिशत छायांकन सकिएको छ र अब अन्तिम चरणमा पुगेको छ । फिल्मको एउटा गीत ताकममा छायांकन भइसकेको छ भने बाँकी दुई गीत कास्कीको सिक्लेस र बेगनास तालमा छायांकन हुने तय भएको छ ।

यो फिल्म रोहित अधिकारी फिल्म्सको प्रस्तुति हो, जसका निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् भने छायांकन सुसन प्रजापतिले गरिरहेका छन् । ‘माइतीघर’ मा माग्ने बुढासँगै धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको यो चौथो प्रोजेक्ट हो । फिल्म दशैंको फूलपातीका अवसरमा देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने तयारी छ ।
@parikalanewsofficial















Discussion about this post