इटहरी/ नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को चौथो सिजनको छायांकन औपचारिक रूपमा सुरु भएको छ । ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाको गायन प्रतिभालाई मञ्च प्रदान गर्ने यस सिजनमा कोचहरूको टोलीमा केही नयाँ र अनुभवी अनुहारहरूले प्रवेश पाएका छन् । काठमाण्डौस्थित धुम्बाराहीमा रहेको ‘द भ्वाइस’ को स्टुडियोमा गत बुधबारदेखि प्रारम्भिक चरण ‘ब्लाइन्ड अडिसन’ सुरु भएको हो । यस चरणमा कोचहरूले प्रतिस्पर्धीहरूको अनुहार नहेरी केवल उनीहरूको आवाजका आधारमा निर्णय गर्नेछन् र उत्कृष्ट प्रतिभाहरूलाई आफ्नो टोलीमा समावेश गर्नेछन् ।
यसले विशुद्ध गायन कलालाई प्राथमिकता दिने शोको मौलिकतालाई कायम राखेको छ । यसपटक कोचको भूमिकामा लोकप्रिय गायक सत्यराज आचार्य र लोक तथा दोहोरी गायक खेम सेञ्चुरी नयाँ कोचका रूपमा जोडिएका हुन् । उनीहरूले आफ्नो लामो सांगीतिक अनुभव र ज्ञान बालबालिकालाई प्रदान गर्ने अपेक्षा गरिएको छ । गत सिजनका कोचहरू मेलिना राई र मिलन नेवार पुनः दोहोरिने भएका छन् ।
@parikalanewsofficial
‘द भ्वाइस किड्स नेपाल’ ले सधैँ नयाँ बाल प्रतिभाहरूलाई पहिचान गर्ने र उनीहरूको सांगीतिक यात्रालाई अगाडि बढाउने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । चौथो सिजनमा पनि देशभरका विभिन्न स्थानबाट आएका बालबालिकाहरूले आफ्नो गायन क्षमता प्रदर्शन गर्नेछन् । यो कार्यक्रम बालबालिकाका लागि एउटा ठूलो सिकाईको अवसर पनि हो, जहाँ उनीहरूले व्यावसायिक कोचहरूबाट संगीतको ज्ञान प्राप्त गर्नेछन् । दर्शकहरूले घरमै बसेर साना नानीबाबुहरूको जादुमय प्रस्तुति हेर्न सक्नेछन् भने पारिवारिक मनोरञ्जनका साथै नेपाली संगीत क्षेत्रका लागि नयाँ पुस्ताका कलाकारहरू जन्माउने मंचको रुपमा हेरिएको छ ।














Discussion about this post