इटहरी/ नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल करिब आठ वर्षपछि ‘नरसिंह अवतार’ फिल्म मार्फत ठूलो पर्दामा फर्कने भएपछि उनका समकालीन तथा सहकर्मी कलाकारहरूमा उत्साह देखिएको छ । यसै सन्दर्भमा लोकप्रिय हास्य अभिनेता, निर्माता तथा हल व्यवसायी दीपकराज गिरीले राजेश हमाललाई विशेष शुभकामना दिँदै आफ्नो सामाजिक सञ्जालमा एक भावुक स्ट्याटस लेखेका छन् ।
गिरीले आफ्नो पोस्टको सुरुवातमा “चलचित्रहरूलाई धेरै शुभकामना दिइयो तर आजको शुभकामना केही फरक छ।” भनेर लेखेका छन् । उनले राजेश हमालसँगको आफ्नो लामो सहकार्य र व्यक्तिगत सम्बन्धलाई स्मरण गर्दै आफ्नो पहिलो फिल्म ‘चोर’ मा हमालसँग स्क्रिन साझेदारी गर्ने मौका पाएको बताएका छन् । त्यसपछि, आफूहरूले निर्माण गरेको पहिलो फिल्म ‘छ एकान छ’ मा पनि राजेश हमालले अभिनय गरेर गुन लगाएको गिरीको भनाइ छ ।
राजेश हमालले आफूहरूका फिल्महरूले सफलता हासिल गर्दा हलमै आएर बधाई दिएको क्षणलाई पनि गिरीले बिर्सेका छैनन् ।गिरीले देश तथा विदेशमा सँगै गरेका थुप्रै स्टेज कार्यक्रमहरू र हमालसँग बिताएका घण्टौँका गफगाफहरू हिजो जस्तै ताजा लाग्ने लेखेका छन् । यी सबले उनीहरूको व्यावसायिक सम्बन्धभन्दा माथि व्यक्तिगत मित्रता र आदरभाव रहेको संकेत गर्छ । गिरीले चार वर्षअघि कोभिड महामारीका बेला उत्पन्न भएको एक विवादलाई पनि स्पष्ट पारेका छन् ।
@parikalanewsofficial
उनका अनुसार, “त्यतिबेला मेरो सहकर्मीले उहाँ (राजेश हमाल) बाट यस्तो बेलामा समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो जसलाई सञ्जालले यसरी ट्विस्ट गरिदियो कि उहाँलाई जनताले दिएको पदवीमाथि नै हाम्रो आपत्ति छ अथवा दाबी नै छ भन्ने भाष्य निर्माण भइदियो, जुन आफैँमा उदेकलाग्दो, अपत्यारिलो र असहज थियो।” यद्यपि, यस घटनाले आफूहरुको सम्बन्धमा कुनै असर नपरेको गिरीको भनाइ छ ।
पछिल्ला दिनमा भेट हुँदा पनि राजेश हमालसँग पुरानै आदरभावले भेटेको र आफू जहाँ पुगे पनि संस्कार भुल्नुहुँदैन भन्ने कुरा आफूले राम्ररी बुझेको गिरीले प्रष्ट पारेका छन् । गिरीले आफ्नो सो पोष्टमा सामाजिक सञ्जालको नकारात्मक पक्षमाथि पनि टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाललाई आजकल गाली, गलौज, घृणा र द्वेष फैलाउने असम्बेदनशील माध्यमको रूपमा परिभाषित गर्दै कलाकारहरूबाट समाजले सधैँ प्रेम, स्नेह र संस्कार खोज्ने बताएका छन् । दीपकले आठ वर्षपछि फिल्ममा फर्किएका महानायक हमाललाई फिल्म ‘नरसिंह अवतार’ को धेरै धेरै शुभकामना दिँदै उनको सम्मान अझै बढ्दै जाओस् भन्ने कामना गरेका छन् ।














Discussion about this post