इटहरी/ नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री सुहाना थापाले अमेरिकाको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयबाट परामर्श तथा चिकित्सा मनोविज्ञानमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । दीक्षान्त समारोहमा उनका पिता तथा निर्माता सुनिल कुमार थापा र माता, अभिनेत्री तथा निर्देशक झरना थापा पनि उपस्थित थिए । सुनिल कुमार थापाले आफ्नी छोरीले अध्ययन पूरा गरी दीक्षित भएकोमा असीमित खुसी व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यो सुखद खबर सार्वजनिक गर्दै आफ्ना लागि यो जीवनकै अविस्मरणीय क्षण भएको बताएका छन् । थापाले आफ्नी छोरीको यो सफलतामा गर्व महसुस गर्दै सन्तानलाई दिइने सबैभन्दा अमूल्य सम्पत्ति संस्कार र शिक्षा नै भएको बताएका छन् । उनले सुहानाको बाल्यकालदेखिको समर्पण, मेहनत र धैर्यले आज सार्थकता पाएको देख्दा बुबाको नाताले आफ्नो खुसी शब्दमा व्यक्त गर्न गाह्रो भएको उल्लेख गरेका छन् ।
“बचपनदेखि देखिएको उसको समर्पण, मेहनत र धैर्य आज फलदायी बनेको देख्दा, एक बाबुको नाताले यो खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ,” थापाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् । उनले शिक्षा र संस्कारको यो बाटोले सुहानालाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै छोरीप्रति सधैँ गर्व गर्ने बताएका छन् । सुहानाको यो शैक्षिक सफलताले परिवारमा खुसी छाएको छ भने उनको भविष्यको यात्राका लागि धेरैले शुभकामना व्यक्त गरेका छन् ।
@parikalanewsofficial
शैक्षिक यात्रा पूरा गरेपछि सुहाना अब पूर्ण रूपमा नेपाली फिल्म क्षेत्रमा सक्रिय हुनेछिन् । उनले यसअघि ‘ए मेरो हजुर ३’, ‘ए मेरो हजुर ४’ र ‘एक भगवत् एक गीता’ जस्ता फिल्महरूमा अभिनय गरिसकेकी छन् । सुहानाको शैक्षिक र कलात्मक सफलताले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ । उनको आगामी प्रोजेक्टहरूमा ‘परालको आगो’ र ‘ए मेरो हजुर ५’ पाइपलाइनमा रहेको छ ।














Discussion about this post