इटहरी/ नेपाली फिल्म बजारमा ‘होस्टेल ३’ ले ५१ दिनसम्म प्रदर्शन भएर हासिल गरेको व्यावसायिक सफलता र दर्शकमाझ सिर्जना गरेको उत्साह कायमै रहँदा सोही टिमले अब ‘बाउ भर्सेस छोरा’ नामक नयाँ फिल्म लिएर आउने घोषणा गरेको छ । सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्ने यो फिल्मले नेपाली समाजको एउटा महत्वपूर्ण पाटोलाई पर्दामा उतार्नेछ ।
निर्देशक सशान कँडेलका अनुसार ‘बाउ भर्सेस छोरा’ ले पुस्तान्तरण अर्थात् फरक-फरक पुस्ताका मानिसहरूबीचको सोच, मूल्य-मान्यता र व्यवहारको टकराबलाई मुख्य विषय बनाएको छ । फिल्मको घोषणामा प्रयोग गरिएको ‘बाउ’ लाई ‘X Generation’ र ‘छोरा’ लाई ‘Z Generation’ का रूपमा चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।

लेखक माधव शर्माले यो फिल्मले नेपाली समाजमा बढ्दै गएको पुस्तागत द्वन्द्व र नयाँ पुस्तामा देखिने दुर्व्यसनको यथार्थता लाई नजिकबाट देखाउने बताए । उनका अनुसार, फिल्मले बाउ र छोराबीचको भौतिक दूरीभन्दा पनि उनीहरूको सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको गहिरो अन्तरलाई केन्द्रबिन्दुमा राखेको छ । ‘होस्टेल ३’ मा माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनको सफल सहकार्यलाई दर्शकले निकै मन पराएका थिए ।
@parikalanewsofficial
यसै सहकार्यलाई ‘बाउ भर्सेस छोरा’ मा पनि निरन्तरता दिइएको छ । कार्यकारी निर्माता शङ्कर कोइराला रहेको यस फिल्मको स्क्रिप्टको अन्तिम चरणको काम भइरहेको निर्माण पक्षले जनाएको छ । फिल्मको कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ । ‘होस्टेल ३’ जस्तै ‘बाउ भर्सेस छोरा’ ले पनि दर्शकको मन जित्न सफल होला त ? यस फिल्मले पुस्तान्तरणको जटिल विषयलाई कसरी प्रस्तुत गर्छ, त्यो हेर्न बाँकी नै छ ।














Discussion about this post