इटहरी/ फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ ले एक पोष्टर सार्वजनिक गर्दै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । लामो समयदेखि चर्चामा रहेको यो फिल्म आगामी भदौ ६ गतेबाट देशभरका फिल्म घरहरूमा प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माण पक्षले सार्वजनिक गरेको पोष्टरले फिल्मको कथावस्तुबारे गहिरो संकेत दिएको छ । अस्ताउँदो सूर्यको पृष्ठभूमिमा उभिएको एक व्यक्तिको आकृति, जसको ठीक माथिबाट एउटा विशाल हवाइजहाज उडिरहेको छ र छेउमा देखिएको ठूलो घरको छायाले दर्शकमा कौतुहलता जगाएको छ ।
पोष्टरमा प्रयोग गरिएको निलो रंग र गोधुली साँझको संयोजनले विशिष्ट भाव सिर्जना गरेको छ । सांकेतिक दृश्यमा देखिएको दुब्लो शरीरको आकृति मुख्य पात्र तथा अभिनेता विजय बरालको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा ठूलो हवाइजहाजको दृश्यलाई वैदेशिक रोजगारीको बिम्वका रुपमा लिइने भएकाले यो दृश्यले फिल्मको कथा सोही सेरोफेरोमा घुम्ने स्पष्ट संकेत दिएको छ ।

फिल्मले विशेषगरि आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । आमाको गुमेको खुसी फर्काउनका लागि सम्पत्ति कमाउने धुनमा गाउँबाट सहर पसेको एक छोराले आफ्नो यात्रामा भोग्नुपर्ने संघर्ष र त्यस क्रममा आउने उतारचढाव यसको मुख्य कथावस्तु हो । गाउँदेखि सहर आएका एक सरल व्यक्तिको जीवनमा आउने परिवर्तन र उनले भोग्नुपरेका भोगाइहरूलाई फिल्मले पर्दामा जीवन्त उतार्ने प्रयास गरेको छ ।
@parikalanewsofficial
छायांकन सम्पन्न गरिसकेको यो फिल्म हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ मार्फत निर्देशक हिमाल न्यौपानेले नेपाली फिल्ममा निर्देशकको रुपमा डेब्यु गर्दैछन् । ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत फिल्मका असोसियट निर्देशक हुन् । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका रमणीय स्थानहरूमा फिल्मको छायांकन गरिएको छ । फिल्ममा विजय बराल र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।
उनीहरुका साथमा मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतका प्रतिभाशाली कलाकारहरूको अभिनय देख्न सकिनेछ । पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
फिल्ममा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । फिल्मका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।
अल टाइम ब्लक बस्टर मानिएको ‘पूर्णबहादुरको सारंगी’ जस्तो सफल फिल्मपछि विजय बरालको यस वर्षको पहिलो मुख्य भूमिका रहेको ‘जनै हराएको बाहुन’ प्रति दर्शकमा विशेष चासो बढेको छ । विसं २०८१ मा ब्लकबस्टर फिल्म दिएका विजय र केकी अधिकारीको सफल जोडीलाई फेरि एकसाथ पर्दामा हेर्न दर्शकहरु उत्साहित छन् । निर्माण पक्षले चाँडै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।














Discussion about this post