इटहरी/ दशैँको फूलपातीलाई रिलिज मिति तय गरेर चर्चामा आएको प्रतिक्षित फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छिन् । निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुन लागेको यस फिल्ममा उनले मुख्य भूमिका निर्वाह गर्ने पक्का भएको छ । एक सामाजिक प्रेमकथामा आधारित रहने ‘महाराजधिराज’ मा वर्षा राउतको प्रवेशले कलाकारहरूको सूची झनै बलियो बनेको छ ।
यसअघि नै यस फिल्ममा आर्यन सिग्देल, पल शाह, वर्षा सिवाकोटी र रमेश उप्रेती जस्ता अनुभवी कलाकारहरु जोडिसकेका छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो प्रोजेक्टका प्रस्तुतकर्ता विराज विष्ट हुन् । निर्माणको जिम्मेवारी भने टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले सम्हालेका छन् । फिल्मका निर्देशक परिच्छेद सेनले यसअघि ‘प्रेमगञ्ज’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

दर्शकमा फिल्मप्रति कौतुहलता जगाउन यसअघि नै यसको पोस्टर सार्वजनिक गरिएको थियो, जसमा अभिनेता पल शाहलाई दुई फरक अवतारमा प्रस्तुत गरिएको छ । ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘गोपी’ लगायतका सफल फिल्महरुमार्फत दर्शकको मन जित्न सफल अभिनेत्री राउतको ‘महाराजधिराज’ मा सहभागिताले फिल्मप्रति दर्शकको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ । फिल्मको छायांकन कार्य अब छिट्टै सुरु हुने तयारीमा रहेको र निर्माण युनिट यस प्रोजेक्टलाई उत्कृष्ट बनाउनका लागि सम्पूर्ण तयारीमा जुटेको बुझिएको छ ।
@parikalanewsofficial














Discussion about this post