काठमाडौं/ नेपाली फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको पहिलो सातामै आम दर्शकको रोजाइ बन्न सफल भएको छ । समीक्षात्मक र व्यापारिक दुवै कोणबाट यस फिल्मले प्रदर्शनको सुरुवातमै सशक्त उपस्थिति जनाउँदै नेपाली बक्स अफिसमा नयाँ तरङ्ग ल्याएको छ । विशेषगरी, रिलिजको पाँचौँ दिन (बुधवार) बाट यस फिल्मले देशव्यापी रूपमा ‘हाउसफुल’ शोहरूको बाढी ल्याउँदै आफूलाई प्रमाणित गरेको छ ।
वितरकहरूका अनुसार, पाँचौँ दिन देशभर ३५० भन्दा बढी शोहरू चलेका थिए र तीमध्ये अधिकांश शोहरू दर्शकले भरिभराउ थिए । ‘डिल डे’ परेका केही हलहरूमा त दिनभरि नै हाउसफुल शो चलेको जानकारी प्राप्त भएको छ । यसले फिल्मको व्यापार निकै राम्रो भएको प्रारम्भिक सङ्केत दिएको छ, यद्यपि पूर्ण कलेक्सन रिपोर्ट आउन बाँकी नै छ । छैटौँ दिन बिहीबार पनि हलहरूमा दर्शकको उपस्थिति उत्साहजनक रूपमा जारी छ, जसले फिल्मप्रतिको आकर्षण घटिनसकेको पुष्टि गर्छ ।
फिल्मको कथा, प्रस्तुति र अभिनयका साथै यसको सङ्गीतले पनि दर्शकको मन जितेको छ । हालै सार्वजनिक गरिएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सामाजिक सञ्जालमा छोटो समयमै निकै लोकप्रिय बनेको छ र यसले फिल्मलाई थप चर्चामा ल्याउन मद्दत गरेको छ । यसअघि रिलिज भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौँ दर्शकको माया पाइसकेका छन् ।
@parikalanewsofficial
दर्शकबाट प्राप्त भइरहेको अपार मायाबाट उत्साहित फिल्म निर्माण टिम अहिले दर्शकहरूसँग प्रत्यक्ष जोडिने प्रयास गरिरहेको छ । बिहीबार काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरूले दर्शकहरूसँग भेटघाट गरे । अब भने फिल्मको दोस्रो हप्ताबाट देशव्यापी दर्शक भेटघाट भ्रमणको तयारी गरिएको छ । निर्देशक नवीन चौहानका अनुसार यो भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ ।
यस भ्रमणमा मुख्य कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारस, लोकप्रिय गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान स्वयं सहभागी हुनेछन् । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूमार्फत प्रदर्शनपूर्व नै राम्रो हाइप सिर्जना गर्न सफल यस फिल्मले प्रदर्शनमा आएपछि दर्शकको मन जित्दै आफूलाई एक सफल फिल्मको रूपमा स्थापित गरिरहेको छ ।















Discussion about this post