काठमाडौं/ महानायक राजेश हमालको कमब्याक रहने भएकाले पनि बहुप्रतिक्षित बनिरहेको फिल्म ‘नरसिंहा अवतार’ले यतिबेला अन्तराष्ट्रिय बजारमा समेत राम्रो सम्भावना देखाएको छ । आगामी जेठ ९ गते देखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को हालै सार्वजनिक गरिएको ट्रेलरले दर्शकमाझ बलियो छाप छाड्न सफल भएसँगै यसको चर्चा र माग स्वदेश तथा विदेशमा चुलिएको छ ।
फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले ‘नरसिंहाः अवतार’को ट्रेलरले पाएको प्रतिक्रियापछि विदेशी बजारबाट फिल्मको माग उच्च स्तरमा आएको र विभिन्न देशमा रिलिजका लागि कुराकानी भइरहेको बताएका छन् । यसै क्रममा, नेपाली फिल्मका लागि सबैभन्दा ठूलो विदेशी बजार मानिने अष्ट्रेलियामा यो फिल्मको प्रदर्शन अधिकार बिक्री भएको पुष्टि भएको छ । अष्ट्रेलियामा रहेका बीआई इभेन्ट्सले फिल्मको सो अधिकार खरिद गरेको हो ।

यद्यपि, यो डिल कति रकममा भएको हो भन्नेबारे निर्माणपक्षले कुनै जानकारी दिएको छैन । बीआई इभेन्ट्सकी प्रतिनिधि वर्षा इतानीले अष्ट्रेलियामा ‘महानायक’ राजेश हमालप्रतिको क्रेज र ‘नरसिंहाः अवतार’ फिल्मको चर्चा व्यापक रहेकाले दर्शकको अत्यधिक मागलाई ध्यानमा राखेर आफूहरुले फिल्मको अष्ट्रेलिया अधिकार खरिद गरेको दाबी गरेकी छिन् । फिल्मले अष्ट्रेलियाली दर्शकको मन जित्नेमा उनी आशावादी छिन् । वर्षाका अनुसार, फिल्म नेपालमा रिलिज भएको केही समयलगत्तै अष्ट्रेलियामा पनि प्रदर्शन गरिनेछ ।
@parikalanewsofficial
नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको संयुक्त लगानीमा निर्माण भएको यो फिल्ममा राजेश हमालका साथै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्रेलरबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र समग्र बजार विश्लेषणले ‘नरसिंहाः अवतार’ले बक्स अफिसमा आक्रामक प्रारम्भ गर्ने अपेक्षा गरिएको छ ।















Discussion about this post