इटहरी/ २०८० सालको सर्वाधिक सफल फिल्म ‘जारी’को बहुप्रतिक्षित सिक्वेल ‘जारी २’को औपचारिक निर्माण प्रक्रिया सुरु भएको छ । सोमबार पाँचथरमा एक कार्यक्रमका बिच फिल्मको शुभमुहूर्त गरिनुका साथै छायांकन पनि थालिएको छ । निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्ने ‘जारी २’को सम्पूर्ण छायांकन प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचथर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूमा गरिने निर्माण पक्षले जनाएको छ ।
‘जारी २’ले यसअघि नै दशैंमा प्रदर्शन हुने घोषणासहित फर्स्टलुक सार्वजनिक गरिसकेको छ । सार्वजनिक फर्स्टलुकमा अभिनेता दयाहाङ राई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देखिएका थिए, जसले फिल्मको मूल भाव ‘सङ्ग अफ च्याब्रुङ’ (च्याब्रुङको गीत) लाई प्रतिविम्बित गर्दछ । कवि तथा लेखक उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा डेब्यु गर्दै बक्सअफिसमा १७ करोडभन्दा माथिको ग्रस कलेक्सन गर्न सफल भएका थिए । सोही सफलतापछि निर्माण हुन लागेको ‘जारी २’ मा पनि उनकै निर्देशन रहनेछ ।

फिल्ममा ‘जारी’का मुख्य कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगरको मुख्य भूमिका रहनेछ । उनीहरू बाहेक बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
@parikalanewsofficial
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्दैछन् । ‘जारी’को अपार सफलतापछि यसको सिक्वेल ‘जारी २’लाई दर्शकले निकै चासोका साथ हेरिरहेका छन् । दशैंमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले पनि पहिलो भागजस्तै दर्शकको मन जित्न सक्ने अपेक्षा गरिएको छ ।














Discussion about this post