काठमाडौं/ नेपाली फिल्म उद्योगमा एक नयाँ र महत्वाकांक्षी प्रोजेक्टको घोषणा भएको छ । करिब ५ करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको फिल्म ‘राजकुमारी’ ले प्रेम, संघर्ष र साहसको एक अद्वितीय गाथा दर्शकमाझ ल्याउने निर्माण पक्षले जनाएको छ । रेडलाइन्स फिल्म प्रा.लि. को ब्यानरमा बन्ने यस फिल्ममा पी.बी. थापाले एकल लगानी गरेका छन् । कथावस्तु र यसले बोक्ने गहन विषयबाट प्रभावित भएर लगानी गरेको निर्माता थापाले बताए ।
फिल्मको लेखन तथा निर्देशनको जिम्मा पुराना तथा अनुभवी निर्देशक रिम विश्वकर्माले लिएका छन् । ‘राजकुमारी’ लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ को संज्ञा दिँदै निर्देशक विश्वकर्माले यो फिल्म उनका लागि ‘डेब्यु निर्देशन’ जस्तै रहेको बताएका छन् । यद्यपि, उनले यसको विशेष कारण पछि खुलाउने संकेत दिएका छन् । निर्देशक विश्वकर्माको अर्को फिल्म ‘हेल्लो काँशीराम’ भने यही आउँदो जेठ २ गते प्रदर्शनमा आउँदैछ ।
‘राजकुमारी’ मार्फत निर्देशनमा आफूलाई पूर्णरुपमा स्थापित गर्ने उनको दाबी छ । फिल्मको सबैभन्दा महत्वपूर्ण पात्र ‘राजकुमारी’ को भूमिकाका लागि भने अहिले अभिनेत्री छनोट प्रक्रिया चलिरहेको छ । केही स्थापित अभिनेत्रीहरूसँग कुराकानी भइरहेको भए पनि मुख्य अभिनेत्रीको टुंगो लाग्न बाँकी रहेको निर्देशक विश्वकर्माले जानकारी दिए । यद्यपि, फिल्मका अन्य कलाकार र प्राविधिक टोलीको चयन भने लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ ।
@parikalanewsofficial
हाल प्रि–प्रोडक्सनको काम धमाधम भइरहेको यस फिल्मको छायांकन केही महिनाभित्रै सुरु गर्ने लक्ष्य राखिएको छ । निर्देशक विश्वकर्माका अनुसार, आगामी भदौ महिनासम्ममा यो फिल्म फ्लोरमा जाने गरी तयारी भइरहेको छ भने प्रदर्शन मिति अहिले नै सार्वजनिक गरिएको छैन ।
फिल्मको शीर्षक ‘राजकुमारी’ ले यसको कथा राजपरिवार वा शाही पृष्ठभूमिमा आधारित हुन सक्ने संकेत दिए पनि निर्माण टिमले भने कथावस्तुका बारेमा पूर्ण विवरण गोप्य राखेको छ । दर्शकमा उत्सुकता जगाउँदै क्रमशः सबै जानकारी सार्वजनिक गर्ने योजना निर्माण टिमको छ । ‘राजकुमारी’ को छायांकन मुख्यतया काठमाडौंमा गरिनेछ भने केही महत्वपूर्ण दृश्यहरू मुस्ताङ, पोखरा र अन्य रमणीय स्थलमा खिच्ने तयारी गरिएको छ ।














Discussion about this post