इटहरी/ नेपाली समाजको एउटा विशेष प्रचलन ‘जन्ती भोज’ मा प्रमुख आकर्षणका रूपमा प्रयोग हुने ‘जन्ते बाख्रो’ लाई नै शीर्षक बनाएर निर्माण भएको प्रतिक्षित फिल्मले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । आगामी जेठ २३ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस फिल्मको पोस्टरले यसको कथावस्तु र प्रस्तुतिबारे थप कौतूहलता सिर्जना गरेको छ ।
हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयवस्तुलाई कलात्मक ढंगले मिश्रण गरी तयार पारिएको भनिएको फिल्मको यस पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकारहरूलाई समावेश गरिएको छ । थुप्रै परिचित अनुहारहरू देखिने यस पोस्टरको सबैभन्दा अगाडि ठूलो आकारमा गुलाबी रङको चश्मा लगाएको एउटा बाख्रोले सबैको ध्यान खिचेको छ ।

रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेको यो आकर्षक पोस्टरमा देखिएका कलाकारहरूको हाउभाउले फिल्मभित्र रमाइलो कथा, रहस्यपूर्ण पाटा र हाँस्यपूर्ण घुम्तीहरू हुने संकेत गर्छ । विशेषगरी, ‘जन्ते बाख्रो’ लाई केन्द्रीय पात्रका रूपमा पोस्टरमा प्रस्तुत गरिनुले कथाको मुख्य रहस्य वा ट्विस्ट यसैसँग जोडिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
@parikalanewsofficial
सिमोश सुनुवारको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसका साथै रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायत अन्य कलाकारहरुले पनि फिल्ममा अभिनय गरेका छन् ।
फिल्म प्रदर्शनअघि नै सार्वजनिक गरिएका ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ बोलका दुई गीतले दर्शकको मन जितिसकेका छन् । मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माता सन्तोष गौतमले निर्माण गरेको ‘जन्ते बाख्रो’ प्रदीप भारद्वाजले लेखेको सामाजिक कमेडी कथावस्तुमा आधारित छ ।
फिल्मको कथा नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने भोजका लागि गरिने ‘जन्ते बाख्रो’ को तयारी र त्यससँग जोडिएका घटनाक्रम वरिपरि घुमेको बुझिन्छ । फिल्मलाई हरि हुमागाईंले छायांकन निर्देशन गरेका छन् भने उत्तम हुमागाईंले छायांकन र सुनिल शिवभक्तिले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । टिफल्क फिल्मस्ले वितरणको जिम्मा पाएको यस फिल्मको डिजिटल राइट्स भने जी टु वान डिजिटलले खरिद गरिसकेको छ ।














Discussion about this post