इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टले आफ्नो जन्मदिनमा विशेष उपहार पाएका छन् । जन्मदिनको अवसरमा बलिदान फिल्म युनिटले समिरलाई सोलो फिचर्ड गर्दै फिल्मको प्री-टिजर सार्वजनीक गरेको हो । यस वर्षको वडा दसैँलाई लक्षित गर्दै फूलपातीमा प्रदर्शन मिति तोकिएको ‘बलिदान’को ४२ सेकेन्डको आधिकारिक प्रि-टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको छोटो प्री-टिजरले बलिदान फिल्मको शक्तिशाली कथावस्तु र प्रस्तुतिको संकेत गर्छ । प्रि-टिजरमा अभिनेता भट्टलाई केन्द्रमा राखी उनका एक्सन प्रधान दृश्यहरू देखाइएको छ । भिडियोको पृष्ठभूमिमा सुनिने “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई, रगत उम्लियो जसको, आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म’ भन्ने संवादले देशभक्तिको भावनालाई उजागर गर्छ । हेर्नुस् प्री-टिजर ।
टिजरमा समीरको अन्तिममा आउने आक्रोशपूर्ण चित्कारले कौतूहलता थपेको छ । निर्देशक सन्तोष सेनले समीर भट्टलाई अभिनयमा अब्बल भन्दै ‘बलिदान’मा उनको क्षमता अझ प्रस्फुटित भएको बताए । उनले भने, “यो प्रि-टिजर समीरको प्रस्तुतिको सानो नमुना मात्र हो, हामी क्रमशः अरू झलकहरू पनि दर्शकमाझ ल्याउनेछौँ।”
‘आसुसेन फिल्म्स् प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा समीरका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको फिल्ममा प्रेम पुरी कार्यकारी निर्माता हुन् । यो प्रि-टिजरले फिल्मप्रति दर्शकको चासो बढाएको छ ।
@parikalanewsofficial














Discussion about this post