इटहरी/ प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘मोहर’को निर्माण टिमले यसको पहिलो लुक्स सार्वजनिक गरेको छ । आगामी साउन २३ गतेबाट देशभरका फिल्म हलमा प्रदर्शन गरिने तयारीमा रहेको यस फिल्मको फस्टलुक पोस्टरले दर्शकमाझ कौतुहलता बढाएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूको चरित्र र भावभङ्गीमालाई प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा नायक पल शाह गम्भीर र केही आक्रोशित भावमा देखिएका छन् । उनीसँगै नायिका बेनिशा हमाल डराएको मुद्रामा प्रस्तुत भएकी छिन् भने अर्की नायिका नीति शाहको अनुहारमा खुशी झल्किएको छ । यी तीन मुख्य कलाकारका साथै पोस्टरमा अनुभवी कलाकार अर्जुन जंग शाहीलाई पनि स्थान दिइएको छ । फिल्मको नाम र लोगोलाई पोस्टरमा प्रमुखताका साथ देखाइएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’ लाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा पल, बेनिशा, नीति र अर्जुनका अलावा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी जस्ता अनुभवि कलाकारहरू र बाल–कलाकार सारा शर्माको पनि अभिनय रहेको छ । प्राविधिक पक्षमा पनि फिल्म अब्बल देखिन्छ । दीपेन बस्न्यातले खिचेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
@parikalanewsofficial
सुरेश अधिकारी र एसडी योगीले संगीत भरेका गीतहरूमा प्रमोद ढुंगाना र हर्क साउदका शब्द रचना छन् । फिल्मका गीतहरूमा कविराज गहतराज र रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्मको निर्माण नियन्त्रण लक्ष्मणराज पौडेलले सम्हालेका छन् ।
फिल्मको सुन्दरतालाई पर्दामा उतार्न दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ । फस्टलुक पोस्टर सार्वजनिक भएसँगै ‘मोहर’ प्रति दर्शकहरूको चासो र अपेक्षा थप बढेको छ । पोस्टरले फिल्मको कथावस्तु र पात्रहरूको द्वन्द्वबारे केही सङ्केत दिएको अनुमान लगाउन सकिन्छ ।














Discussion about this post