इटहरी/ किराँत समुदायका फिल्मकर्मीहरूलाई एकताबद्ध गरी उनीहरूको भाषा, कला, संस्कृति, हकहित तथा संरक्षण गर्ने महत्वपूर्ण उद्देश्यका साथ कोशी प्रदेशमा ‘किराँत चलचित्रकर्मी संघ’को विधिवत रुपमा स्थापना भएको छ । धरानस्थित व्हाइट हाउस कलेजमा आयोजित एक विशेष समारोहका बीच सोमबारे यस संघको ११ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।
नवगठित कार्यसमितिको अध्यक्षमा कलाकार तथा निर्माता सागर सुब्बा सिंगल चयन भएका छन् । समितिका अन्य पदाधिकारीहरुमा निर्माता तथा कलाकार मदन बहादुर राई, रोशन बान्तवा, भोगेन्द्र याम्फु, पेसल सुनुवार, ज्योति सुनुवार, रुपक जिमि राई, अबिनास राई, जयन्ती आङ्देम्बे, अशोक लिम्बु र हाङ्मा लिम्बू रहेका छन् ।
@parikalanewsofficial
संघको विधिवत स्थापना समारोहमा नवनिर्वाचित कार्यसमितिलाई अबिर र खदा लगाएर शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा यस क्षेत्रका करिब १०० जना फिल्मकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको जनाईएको छ ।
संघको स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै नवनिर्वाचित अध्यक्ष सागर सुब्बा सिंगलले भने, “किराँत दाजुभाइ दिदीबहिनी फिल्मकर्मीहरूलाई एउटा छाता संगठनको रुपमा उहाँहरूकै भाषा, कला, संस्कृति, हकहित र संरक्षण गर्ने उद्देश्यले यो संस्था निर्माण भएको हो ।”
समारोहमा बरिष्ठ रंगकर्मी तथा निर्देशक बिजय संयोग सुब्बा, निर्देशकहरू सुरेन्द्र भुजेल, रबिन श्रेष्ठ, हेमन तामाङ, प्रकाश सुब्बा, कलाकार सानुबाबु सुब्बा, कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोइराला, रमेशकुमार कटवाल, राजिव दहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कलाकार संघ कोशी प्रदेशका उपाध्यक्ष दिनेश कोइरालाले गरेका थिए । यो संघको स्थापनाले कोशी प्रदेशका किराँत फिल्मकर्मीहरूलाई संगठित भई आफ्नो पहिचान र अधिकारका लागि काम गर्न थप बल पुग्ने विश्वास लिइएको छ ।














Discussion about this post