इटहरी/ सांगीतिक क्षेत्रमा आफ्ना मर्मस्पर्शी गीतहरुमार्फत छुट्टै पहिचान बनाएका लोकप्रिय लोकगायक प्रकाश दूतराजले अब फिल्म अभिनयमा हात हालेका छन् । उनी फिल्म ‘आहुति : द वे अफ चेन्ज’ मार्फत ठूलो पर्दामा डेब्यु गर्ने भएका हुन् । प्रकाशले यस फिल्ममा शीर्ष भूमिका निर्वाह गर्नेछन् । झनै रोचक कुरा त यो छ कि उनले आफ्नो पहिलो फिल्ममा नै चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने पक्का भएको छ ।
हाल पाँचथरको सुभाङमा गोप्य रुपमा फिल्मको छायांकन भइरहेको छ । निर्माण टिमले फिल्मको विषयवस्तु र छायांकनबारे धेरै खुलाएको छैन । आफ्नो पहिलो फिल्मी यात्राबारे कुरा गर्दै गायक दूतराजले भने, “पहिलो फिल्म भएकाले डर र रमाइलो दुवै लागिरहेको छ ।” फिल्ममा उनी साम्राज्ञीको अपोजिटमा देखिनेछन् । साम्राज्ञीले सामाजिक सञ्जालमा सेयर गरेका केही तस्बिरहरुमा दुवैलाई ग्रामीण परिवेशका पात्रको रुपमा देख्न सकिन्छ ।
@parikalanewsofficial
फिल्ममा प्रकाश र साम्राज्ञीसँगै ‘भ्वाइस अफ नेपाल ४’ का फाइनलिस्ट तथा ‘होस्टेल ३’ का कलाकार रिहान गिरीको पनि मुख्य भूमिका रहेको छ । बाल कलाकारको रुपमा आयुषी ढकालले काम गरिरहेकी छिन् । स्रोतका अनुसार, ‘आहुति : द वे अफ चेन्ज’ लाई दुई भागमा बनाइँदैछ र अहिले भाग १ र २ को छायांकन सँगसँगै भइरहेको छ ।
पहिलो भागको छायांकन सकिएलगत्तै दोस्रो भागको काम सुरु हुनेछ र सोही भागबाट रिहान गिरीको प्रवेश हुने बताइएको छ । भवानी संग्रौलाको निर्माण तथा निर्देशनमा बनिरहेको यो फिल्म अनिल संग्रौला मूभी मेकरको ब्यानरमा तयार हुँदैछ । फिल्मको अनुमानित बजेट १ करोड २५ लाख रुपैयाँ रहेको जनाइएको छ । ‘रिमै’, ‘घर कता हो बैनीको’, ‘रेशम’, ‘जाम भो माइली’ जस्ता सुपरहिट गीतहरु दिएका गायक प्रकाश दूतराजलाई अब ठूलो पर्दामा देख्न उनका फ्यानहरु उत्साहित छन् ।














Discussion about this post