इटहरी/ काठमाडौंको न्यूरोडस्थित रञ्जना फिल्म हलमा नेपाली फिल्म ‘होस्टेल ३’ले लगातार ५१ औँ दिनको प्रदर्शन सफलतापूर्वक पूरा गरेको अवसरमा सोमवार एक विशेष कार्यक्रमको आयोजना गरियो । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले रञ्जना हलमा यो महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको हो । फिल्मले शनिवार नै ५१ दिनको यात्रा पूरा गरेपनि केही कारणवश कार्यक्रम दुई दिन ढिला गरी सोमवार आयोजना गरिएको निर्देशक शशान कँडेलले जानकारी दिए ।
५१ दिनको सफल प्रदर्शनको यस उपलब्धिलाई स्मरणीय बनाउन आयोजित कार्यक्रममा फिल्म युनिटलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो । कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उत्साहजनक उपस्थिति रहेको थियो । यद्यपि, अर्का केही कलाकारहरू पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान भने उपस्थित हुन सकेनन् ।
फिल्ममा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरेको सहभागिताले कार्यक्रमको रौनक बढाएको थियो । उनले ‘होस्टेल ३’ मार्फत पहिलो पटक पर्दामा देखिएका नयाँ कलाकारहरूको फिल्म नै सफल भएकोमा असीम खुसी व्यक्त गरे । विशेष गरी आफ्नै छोरा आशिष घिमिरेसहित अन्य युवा कलाकारहरूको सफलता देख्दा आफू निकै भावुक बनेको उनले बताए । कार्यक्रममा उपस्थित नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो फिल्मलाई दर्शकले दिएको अपार माया र साथप्रति गहिरो आभार प्रकट गरे ।
@parikalanewsofficial
उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि ‘विश्वविद्यालय’को संज्ञा दिँदै यसबाट फिल्म क्षेत्रमा सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे । फिल्मका निर्देशक शशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले फिल्मलाई यो उचाइसम्म पुर्याउन महत्त्वपूर्ण साथ र समर्थन दिने सम्पूर्ण दर्शक तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।
‘होस्टेल’ फिल्म शृङ्खला नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने प्लेटफर्मका रूपमा परिचित छ । यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ले पनि व्यापक सम्भावना बोकेका केही नयाँ र प्रतिभावान कलाकारहरूलाई पर्दामा परिचित गराउन सफल भएको छ । यस फिल्ममा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।
प्रवीण खतिवडाले वार्डेनको महत्त्वपूर्ण भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्मका अन्य कलाकार हुन् । फिल्मका निर्माताहरूमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी छन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता र कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।














Discussion about this post